काठमाडौँ- पूर्वसभामुख दमननाथ ढुङ्गानाको निधन भएको छ । बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा उपचारका क्रममा ८३ वर्षको उमेरमा उहाँको आज दिउँसो १ः३० बजे निधन भएको ढुङ्गानाका स्वकीय डा रुद्र शर्माले जानकारी दिए।
वरिष्ठ अधिवक्ता समेत रहेका ढङ्गाना कलेजोसँग सम्बन्धित समस्याका कारण केही समयदेखि उपचाररत थिए। विसं २०४८ सालमा काठमाडौँ क्षेत्र नं २ बाट नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधिसभामा निर्वाचित उनी २०४८ देखि २०५१ सम्म सभामुख भएका थिए।
नेपालको प्रजातान्त्रिक आन्दोलनमा महत्वपूर्ण योगदान दिनुभएका उहाँ राजनीतिक आन्दोलनका क्रममा पटक–पटक जेल पनि परेका थिए। उनका श्रीमति, दुई छोरा र एक छोरी छन्। ढुङ्गानाको सोमबारअन्त्येष्टि गरिने स्वकीय शर्माले जानकारी दिए।
राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वसभामुख दमननाथ ढुङ्गानाको निधनप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन्। आज सामाजिक सञ्जालमार्फत उनले ढुङ्गानाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल रहनुभएका परिवारमा समवेदना प्रकट गरेका छन्।
'पूर्वसभामुख दमननाथ दुङ्गानाको निधनले मर्माहत भएको छु, राजनीतिकर्मी, वरिष्ठ अधिवक्ता, नागरिक अगुवाको पहिचान बनाउनुभएका ढुङ्गानाले लोकतान्त्रिक आन्दोलनमा पुर्याउनुभएको योगदान सधै स्मरण हुनेछ, प्रिय ढुङ्गानाप्रति श्रद्धाञ्जली र शोकाकुल परिवारजनमा समवेदना व्यक्त गर्दछु', राष्ट्रपतिले भनेका छन्। राष्ट्रपति पौडेलले नेपालको संवैधानिक र संसदीय इतिहासमा ढुङ्गानाको योगदान विशिष्ट रहेको स्मरण गरेको उनका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए।
प्रधानमन्त्री केपी शर्मा ओलीले पनि पूर्वसभामुख ढुङ्गानाको निधनप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन्। आज सामाजिक सञ्जालमार्फत उनले ढुङ्गानाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकमा रहेका परिवारमा गहिरो समवेदना प्रकट गरेका छन्।
'विसं २०४६ मा प्रजातन्त्र पुनःस्थापना भएपछि निर्वाचित पहिलो प्रतिनिधिसभाका सभामुख, मेरा मित्र दमननाथ ढुङ्गानाको निधनको खबरले अत्यन्त दुःखी छु । नेपालमा मानव अधिकार रक्षाको आन्दोलन र संसदीय अभ्यासको प्रवद्र्धनमा उहाँको योगदान सम्झिरहेको छु”, प्रधानमन्त्रीले भनेका छन्।