काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिजैविक प्रतिरोध रोक्न सवैले आ-आफ्नो तर्फबाट सक्रिय हुनुपर्ने बताएका छन्। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह २०२४ का अवसरमा सन्देश प्रवाह गर्दै यस्तो बताएका हुन्।
उनले भनेका छन्, 'प्रतिजैविक प्रतिरोध अर्थात् संक्रमणको उपचारमा प्रयोग हुने औषधिले उपचारको क्रममा आवश्यक परेको अवस्थामा प्रभावहीन हुने अवस्था हो। नेपाल प्रतिजैविक प्रतिरोधको बढ्दो समस्याबाट अछुतो छैन।'
उनले यो समस्या मानव स्वास्थ्यको मात्र विषय नभई पशु स्वास्थ्य, कृषि, खाद्य तथा वातावरणको लागि पनि चुनौती बनेको बताएका छन्। 'प्रतिजैविक प्रतिरोध मानव, पशु र कृषिमा एन्टिबायोटिक (प्रतिजैविक औषधि) को अत्यधिक प्रयोग र दुरुपयोगसँग जोडिएको हुँदा यो समस्या न्यूनीकरण तथा रोकथाम गर्न सबै क्षेत्र र निकाय एकजुट हुन अनिवार्य छ,' उनले भने।
प्रतिजैविक प्रतिरोधले विश्वव्यापी रूपमा पारिरहेको असरलाई सम्बोधन गर्न यसै वर्ष ७७ औं विश्व स्वास्थ्य सभा तथा संयुक्त राष्ट्र संघको ७९ औं महासभामा प्रतिजैविक प्रतिरोध सम्बन्धी उच्चस्तरीय बैठकमा नेपाल सरकारले प्रतिबद्धता जाहेर गरेको उल्लेख गरेका छन्। सोहीअनुरुप यसै वर्ष "एक स्वास्थ्य" अवधारणा अनुरुप सबै क्षेत्रबाट प्रतिजैविक प्रतिरोध सम्बोधनका लागि आवश्यक पहल गर्न नेपाल सरकारले राष्ट्रिय प्रतिजैविक प्रतिरोध कार्य योजना पारित गरी लागु समेत गरिसकेको छ उल्लेख गरेका छन्।
'प्रतिजैविक प्रतिरोधको फैलावट रोक्न तथा असरलाई न्यूनीकरण गर्न हामी सबैले आफ्नो तहबाट सक्दो पहल गर्न आवश्यक छ,' उनले भनेका छन्, 'यसका लागि आफु, आफ्नो परिवार तथा समुदायलाई शिक्षित पार्ने प्रतिबद्धता गर्नुपर्छ । हामी सबैको संयुक्त प्रयासले मात्र यस चुनौतीको सामना गर्न सकिने हुँदा म सबै नागरिक, संघसंस्था, सरोकारवाला निकाय र क्षेत्रहरुलाई सहकार्य गर्न आव्हान गर्दछु।'
'प्रतिरोध: बुझौ, बुझाऔं, आजैबाट रोकथाममा जुटौं' भन्ने मूल नाराका साथ विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह २०२४ आजदेखि सुरु भएको छ।