काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल, कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारी र बन तथा वातावरण मन्त्री ऐनबहादुर शाहीले प्रतिजैविक औषधिको समुचित प्रयोग गर्न आह्वान गरेका छन्। प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह २०२४ का अवसरमा विशेष सन्देश जारी गर्दै यस्तो आह्वान गरेका हुन्।
उनीहरुले भनेका छन्, 'प्रतिजैविक प्रतिरोधका विषयमा सबै तहमा सचेतना, जागरण तथा पैरवी गर्न आवश्यक छ र यसका लागि आजैदेखि नै सबैले जुट्नुपर्ने आवश्यकता छ । सबैले आ-आफ्नो क्षेत्रबाट यस चुनौतीको न्यूनीकरणका लागि महत्वपूर्ण भूमिका खेल्ने अपेक्षाका साथ प्रतिजैविक औषधिको समुचित प्रयोग गर्न सबैलाई आव्हान गर्दछौं।'
नेपाल जस्तो संक्रामक रोगहरुको भार धेरै भएको विकासोन्मुख देशमा मानिस, पशुपन्छी र बोटबिरुवाका संक्रामक तथा सरुवा रोगको उपचारमा प्रतिजैविक औषधिहरूको मुख्य भूमिका रहेको वक्तव्यमा बताइएको छ। तर, विश्वव्यापी रुपमा वृद्धि भइरहेको प्रतिजैविक प्रतिरोधका कारण यस्ता बहुमूल्य प्रतिजैविक औषधिहरूको क्षमता घट्न गई संक्रामक रोगहरुको प्रभावकारी उपचारमा चुनौती थपिएको उल्लेख छ।
विश्व स्वास्थ्य संगठनका अनुसार प्रतिजैविक प्रतिरोध कारण विश्वभर करिब १२ लाख मानिसको मृत्यु भइरहेको तथ्यांक अघि सारिएको छ। भनिएको छ, 'यस मुद्दालाई बेलैमा सम्बोधन नगरेको खण्डमा सन् २०५० सम्म मा करिब ५० लाख मानिसको मृत्यु हुने तथा सन् २०३० सम्ममा ३४ खर्ब अमेरिकी डलरसम्मको आर्थिक भार थपिने आँकलन गरिएको छ।'
यसबाट सन् २०३० सम्ममा दिगो विकास लक्ष्य हासिल गर्ने दिशामा बाधा पुग्न सक्ने पनि उनीहरुले औंल्याएका छन्। 'बढिरहेको प्रतिजैविक प्रतिरोधको समस्याले मानव स्वास्थ्य मात्र नभई अन्योन्याश्रित अन्तरसम्बन्ध रहेका पशुपन्छी तथा वातावरणीय स्वास्थ्यलाई समेत प्रत्यक्ष असर पारेको छ । त्यसैले, यस समस्यासँग जुध्न एक स्वास्थ्य रणनीति, २०७६ अनुसार अगाडि बढ्न आवश्यक छ,' वक्तव्यमा भनिएको छ, 'एन्टिबायोटिक लगायतका औषधिहरुको जिम्मेवारपूर्ण प्रयोगलाई प्रवर्द्धन गर्दै संक्रमण रोकथाममा सुधार गर्न, प्रतिजैविक प्रतिरोधको निगरानीलाई निरन्तरता दिन तथा वैकल्पिक उपचार र रोकथामका उपायहरुको अनुसन्धान गर्ने कार्यहरुलाई कार्यान्वयन गर्नुपर्नेछ।'
नेपाल सरकारले एक स्वास्थ्य रणनीति अनुरुप बहुपक्षीय संग्लाग्नातामा प्रतिजैविक प्रतिरोध न्यूनीकरणका लागि राष्ट्रिय कार्ययोजना विधिवत रूपमा स्वीकृत गरि कार्यान्वयनमा समेत ल्याइसकेको बताइएको छ । उच्चस्तरिय प्रतिबद्धताका साथ ल्याइएको यो कार्ययोजनाले एक स्वास्थ्य क्षेत्रका सरोकारवाला बिचको सहकार्यमा प्रतिजैविक प्रतिरोध न्यूनीकरणमा तथा दिगो विकास लक्ष्य हासिल गर्नमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।