काठमाडौं- नेपाल स्वास्थ्य व्यवसायी परिषद (एनएचपीसी)का अध्यक्ष सुवोध कुमार शर्मा र भारतको कर्नाटक स्टेट एलाइड एन्ड हेल्थ केयर काउन्सिलका अध्यक्ष डा यू टी इफ्तिकार फरिदबीच भेटघाट भएको छ।
हालै नेपाल आएका अध्यक्ष डा फरिद र शर्माबीच एनएचपीसीको कार्यालयमा भेटघाट भएको हो। दुई अध्यक्षबीच नेपाल र भारत तथा कर्नाटकको स्वास्थ्यका विषयमा छलफल भएको थियो।
अध्यक्ष शर्माले कर्नाटकको काउन्सिल र नेपालबीच केही विषयमा सहकार्य गर्ने प्रस्ताव गरेका थिए। डा शर्माको प्रस्ताव लगत्तै डा फरिदले कर्नाटक राज्यमा नेपालबाट स्वास्थ्यका विषयमा अध्ययन गर्न चाहने केही विद्यार्थीहरुलाई छत्रवृत्ति उपलब्ध गराउने बताए। मेधावी तर आर्थिक रुपमा कमजोर रहेका विद्यार्थीहरुलाई छत्रवृत्ति उपलब्ध गराउने डा फरिदले जानकारी दिएका थिए।
यसका साथै विश्व स्वास्थ्य संगठनको क्षेत्र अनुसार दक्षिण पूर्वी एसियाली देशहरु (सेरो)बीच सञ्जाल बनाउने विषयमा पनि छलफल भएको अध्यक्ष शर्माले जानकारी दिए। सेरो राष्ट्रहरुबीच सञ्जाल बनाउने पहिलो चरणमा भारतमा सबै राष्ट्रका काउन्सिलका प्रतिनिधिहरुबीच छलफल कार्यक्रम राख्ने र त्यसका लागि आफूले पहल गर्ने डा फरिदले बताएको शर्माले जानकारी दिए।
डब्ल्यूएचओको दक्षिण-पूर्वी एसिया क्षेत्रमा नेपाल, भारत, भुटान, बंगलादेश, उत्तर कोरिया, इन्डोनेसिया, मालदिभ्स, म्यानमार, श्रीलंका, थाइल्याण्ड र टिमोर लिस्टे गरी ११ देश सदस्य छन्।
'मुख्यत: नेपाली विद्यार्थीलाई छत्रवृत्ति दिने र सेरो राष्ट्रबीच सञ्जाल बनाउने विषयमा छलफल केन्द्रित भएको थियो,' शर्माले भने, 'त्यसैगरी समग्र स्वास्थ्य क्षेत्र र स्वास्थ्यकर्मीहरुको क्षमता अभिवृद्धिदेखि अध्ययन अनुसन्धानका विषयमा पनि छलफल भएको थियो।'
शर्माले अन्य देशका काउन्सिलहरुसँग पनि परिषदलले सहकार्य अगाडि बढाउने तयारी गरिरहेको जानकारी दिए।