काठमाडौं- नेपाल अप्थाल्मिक सोसाइटीको २६ औं वार्षिक सम्मेलन राजधानीमा जारी छ। सम्मेलनको मूल नारा सेलिब्रेटिङ् एण्ड अनफोल्डिङ द साइन्स अफ अप्थाल्मोलोजी भन्ने रहेको छ।
राजधानीको याक एण्ड यति होटलमा शुक्रवारबाट सुरु भएको सम्मेलनको नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा चोपलाल भुषालले उद्घाटन गरेका छन्। उद्घाटनसत्रमा विशेष अतिथिका रुपमा नेपाल चिकित्सक संघका अध्यक्ष डा. अनिल विक्रम कार्की, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका उपकुलपति डा भूपेन्द्र बस्नेत लगायत सहभागी भएका थिए।
नेपाल अप्थाल्मिक सोसाइटीको वार्षिक सम्मेलनको यसवर्षको आयोजक समितिको अध्यक्षमा प्राडा. मीनु चौधरी र सोसाइटीका महासचिव डा पुरुषोत्तम जोशी सचिव रहेका छन्। सम्मेलनमा विश्वका विभिन्न देशका करिब ४० जना आँखा विशेषज्ञहरुको सहभागिता रहेको छ। नेपालका र विदेशबाट आएका करिब ७० जना चिकित्सकले सम्मेलनका विभिन्न सत्रहरुमा आँखा उपचारका क्षेत्रमा भएका नविनतम प्रयोग, आविष्कार र उपलब्धिहरुका बारेमा प्रस्तुति दिने र छलफल गर्ने कार्यसूचि रहेको छ।
कार्यक्रमको उद्घाटनसत्रमा सोसाइटीले प्रा.डा. सुरज शमसेर जंग बहादुर राणा, प्रा.डा. रीता गुरुङ, प्रा.डा. संजयकुमार सिंह तथा सह प्रा.डा. बसन्तराज शर्मालाई लाइफ टाइम एचिभमेन्ट अवार्ड २०२४ द्वारा सम्मान गरिएको छ।
त्यस्तै सोसाइटीले अष्ट्रेलियाका प्रा.डा. स्टेफेनी वाट्सनलाई मदन प्रसाद उपाध्याय लेक्चरर अवार्ड २०२४ प्रदान गरेको छ। त्यस्तै प्रा.डा. रामप्रसाद पोखरेल बेस्ट रेजिडेन्ट अवार्ड २०२४ न्याम्सका डा. प्रकाश बम, केयुएसएमएसका डा. पारामंगना थेवे, वीपीकेआईएचसका डा. रिना साह र त्रिभूवन विश्वविद्यालयका डा। प्रियांका सिंहलाई प्रदान गरिएको छ। त्यस्तै, बेस्ट रेजिडेन्ट अवार्ड २०२३ बाट न्याम्सकी डा. सीमा भण्डारी, केयुएसएमएसका डा. रोजी मानन्धर, वीपीकेआईएचसका डा. पुष्पा उपाध्याय, त्रिभूवन विश्वविद्यालयकी डा. दिक्षा बोहरालाई सम्मान गरिएको छ।
सम्मेलनको दोश्रो दिन सोसाइटीको वार्षिक साधारण सभा हुने कार्यतालिका रहेको छ। यस साधारण सभाले नयाँ नेतृत्व चयनका साथै वार्षिक प्रगति समीक्षा गर्नेछ। अधिवेशनमा संस्थामा रहेका ५ सयजनाभन्दा धेरै चिकित्सकले नेतृत्व परिवर्तनका लागि मतदान गर्नेछन्। अधिवेशनले सोसाइटीको १९ औं कार्यसमिति चयन गर्नेछ। निर्वाचन तालिका अनुसार शनिवार हुने निर्वाचन अगावै ३ जना पदाधिकारी आउँदो कार्यकालका लागि निर्विरोध निर्वाचित भएका छन्।
सोसाइटीका वर्तमान कोषाध्यक्ष डा. तेजसु सिंह मल्ल आउँदो कार्यकालका लागि महासचिवमा, डा. कौशल पोखरेल कोषाध्यक्षमा र डा. रवीन्द्र सिंह ठकुरी सहसचिवमा सर्वसम्मत चयन हुनुभएको छ। शनिवार हुने निर्वाचनमा अध्यक्ष, उपाध्यक्ष, सह कोषाध्यक्ष र सदस्यहरुका लागि मतदान हुनेछ। पदाधिकारीहरुको कार्यकाल २ वर्षको रहने सोसाइटीको विधानमा व्यवस्था छ।
सोसाइटीको हालको कार्यसमितिले गएको दुईवर्षमा नियमित कार्यका अलावा विभिन्न रचनात्मक क्रियाकलाप सम्पन्न गरेको छ। डा. मिनु चौधरीको नेतृत्वमा यस कार्यकालमा संस्थाले एशिया प्यासिफिक एकेडेमी अफ अप्थाल्मोलोजी (अपाओ) लिडरसिप डेभलपमेन्ट प्रोग्रामको मास्टरक्लास सर्वप्रथम नेपालमा आयोजना गरेको छ।
जसमा नेपाल र विदेशका विभिन्न देशबाट प्रशिक्षार्थी र शिक्षकहरु सहभागी भएका थिए। त्यस्तै, सोसाइटीले यसबीचमा प्रतिष्ठित संस्था इन्टरनेशनल एजेन्सी फर प्रिभेन्सन ब्लाइन्डनेश (आइएपिबी) को सदस्यता लिन सफल भएको छ। त्यस्तै नेपाल सरकारको स्वास्थ्य सेवा विभाग अन्तर्गतको उपचारात्मक सेवा महाशाखासँग मिलेर आँखा स्वास्थ्य सम्बन्धी कार्यविधि (विद्यालय नर्सको लागि)पनि निर्माण गरेको छ। सोसाइटीले हाल नेपाल सरकारको बीमा कार्यक्रममा नसमेटिएको आँखा उपचारलाई बीमा प्याकेजमा समावेश गर्न पहल गरेको छ।
नेपाल अप्थाल्मिक सोसाइटी सन् १९८५ मा सुरु भएको आँखा विशेषज्ञहरुको एकमात्र छाता संगठन हो। यसले प्रत्येक वर्ष राष्ट्रिय सम्मेलन गर्दै आएको छ। साथै यस संस्थाले आँखा चिकित्सकहरुको हकहित प्रवद्र्धन र नीतिगत सुधारका लागि सरकारसमक्ष पहल गर्दै आएको छ।