काठमाडौं- साइबर अपराधको कसूरमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईं थप ४ दिन हिरासतमा रहने भएका छन्। जिल्ला अदालत काठमाडौंले आइतबार उनलाई थप ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो।
प्रधानमन्त्री केपी शर्मा ओलीको कम्बोडियामा लगानी रहेको अफवाह फैलाएको आरोपमा उनी पक्राउ परेका हुन्। विद्युतीय अपराध नियन्त्रण ऐन, २०६३ विपरीतको कसुरमा पक्राउ परेका उनलाई यसअघि पाँच दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको थियो ।
केही कागजात समेत सार्वजनिक गर्दै प्रसाईंले प्रधानमन्त्री ओलीको कम्बोडियामा २१ करोड अमेरिकी डलर बराबर लगानी रहेको बताएका थिए।
यसैगरी प्रसाईं हिरासतमै रहेको बेला उनको योजनामा व्यवसायीलाई धम्क्याएको आरोपमा एकजना पक्राउ परेका छन्। उक्त आरोपमा पनि उनीमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।