काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डा अनुप बास्तोलाको संयोजकत्वमा गुनासो सुनुवाई समिति गठन गरेको छ।
स्वास्थ्य मन्त्री प्रदीप पौडेलको मंसिर १६ गते आइतबारको निर्णय अनुसार डा बास्तोलाको संयोजकत्वमा गुनासो सुनुवाई गर्ने, सुझावहरुको कार्यान्वयन गर्ने र जिज्ञासा समाधान गर्ने समिति गठन भएको हो।
समितिमा मन्त्रालयको सूचना प्रविधि निर्देशक रमेश राज सुवेदी, शाखा अधिकृत गौरी प्रसाद आचार्य सदस्य रहेका छन्। मन्त्रालयका सूचना अधिकारी भने समितिको सदस्य सचिव रहेका छन्।
मन्त्रालयले सुशासन (व्यवस्थापन र सञ्चालन) ऐन, २०६४ को दफा ३१ र सुशासन (व्यवस्थापन र सञ्चालन) नियमावली, २०६५ को नियम २० मा भएको व्यवस्था अनुसार मन्त्रालय र मातहत निकायहरुको काममा सेवाग्राही तथा सरोकारवालाको गुनासोलाई उचित सुनुवाई गर्न, सुझावहरुको कार्यान्वयन गर्न र जिज्ञासाको समाधान गर्न उक्त समिति गठन गरेको पत्र संयोजक र सदस्यहरुलाई दिएको छ।
यस्ता छन् समितिले गर्ने कामका क्षेत्र
१. मन्त्रालयबाट प्रवाह हुने सेवाका सम्बन्धमा सेवाग्राहीबाट प्राप्त गुनासो संकलन गर्ने,
२. बुँदा नं. १ बमोजिम प्राप्त गुनासो सम्बोधनका लागि सम्बन्धित महाशाखामा तुरुन्त पेश गर्ने,
३. मातहतका विभाग, केन्द्र, प्रयोगशाला, अस्पताल समेतबाट प्रवाह हुने सेवा सम्बन्धमा सेवाग्राहीले सोही निकायमा गरेका गुनासो तत् तत् निकायबाट सुनुवाई भए/ नभएको अनुगमन गर्ने,
४. मातहतका विभाग, केन्द्र, प्रयोगशाला, अस्पताल समेतबाट हुने सेवा प्रवाहका सम्बन्धमा मन्त्रालयमा गुनासो आएमा प्राप्त भएका गुनासोको उचित सम्बोधनका लागि सम्बन्धित निकायमा लेखि पठाउने, सो बमोजिम गुनासोको उचित सम्बोधन भए/नभएको सम्बन्धमा नियमित अनुगमन गर्ने,
५. सेवाग्राहीले गुनासो गर्ने सरल र सुलभ माध्यमका सम्बन्धमा सम्बन्धित सबैले जानकारी प्राप्त गरी सूचना प्रकाशन गर्ने।