काठमाडौँ- प्रत्येक वर्ष डिसेम्बर १२ मा मनाइने ‘स्वास्थ्यमा सर्वव्यापी पहुँच’ (युनिभर्सल हेल्थ कभरेज) दिवस यस वर्ष पनि मनाइँदैछ। ‘नागरिकको स्वास्थ्य राज्यको दायित्व’ नाराका साथ यस वर्षको दिवस मनाउन लागिएको हो।
स्वास्थ्यमा सर्वव्यापी पहुँचको लक्ष्य भनेको सबै व्यक्तिहरूले जस्तोसुकै परिस्थितिमा आफूलाई आवश्यक स्वास्थ्य सेवाहरू आर्थिक कठिनाइको सामना नगरी प्राप्त गर्ने अवस्थाको सुनिश्चितता गर्नु हो। स्वास्थ्यमा सर्वव्यापी पहुँचले जीवनको चरणवद्ध पद्धतिमा आधारित भई प्रवर्द्धनात्मक, निवारणात्मक, उपचारात्मकदेखि प्रशामक सेवासम्मका अत्यावश्यक स्वास्थ्य सेवाहरूको पूर्ण निरन्तरता दिनुपर्ने कुरालाई समेट्छ।
सरकारले सबै नागरिक र विशेषगरी अति गरिब र जोखिममा रहेका समुदाय तथा व्यक्तिहरूका लागि पहुँचयोग्य तथा निःशुल्क रुपमा स्वास्थ्य सेवा प्राप्त हुने अवस्था सुनिश्चित गर्नुपर्छ। सबै नागरिकको स्वास्थ्य सेवामा पहुँच सुनिश्चित गर्न र आर्थिक कठिनाइबाट नागरिकलाई जोगाउन विश्वभरका सरकारहरुलाई निम्न कदमहरू चाल्नका लागि यस दिवसले आह्वान गरेको छ:
- स्वास्थ्यमा सर्वव्यापी पहुँच र वित्तीय सुरक्षालाई राष्ट्रिय प्राथमिकतामा राख्ने।
- स्वास्थ्यमा हुने खर्चका कारण गरिबीमा पर्नबाट जोगाउने कानुनहरू निर्माण र कार्यान्वयन गर्ने।
- आवश्यक स्वास्थ्य सेवाहरूको किफायती प्याकेजका लागि पर्याप्त बजेट छुट्याउने।
- राष्ट्रिय करको स्रोतबाट सम्पूर्ण जनसंख्यालाई समेट्ने गरी राष्ट्रिय सार्वजनिक स्वास्थ्य योजना स्थापना गर्ने।
- विशेषगरी कम आय भएका वा दीर्घकालीन रोग भएका व्यक्तिहरूका लागि सेवाशुल्क घटाउने वा हटाउने।