बोदेबरसाइन- सप्तरी जिल्लाको बोदेबरसाइन नगरपालिका–५ मा १५ शय्याको अस्पताल निर्माण गर्न आज भवनको शिलान्यास गरिएको छ। शत्रुध्न हस्पिटल नजिकै रहेको सार्वजनिक जग्गामा १५ शय्याको आधारभूत अस्पताल निर्माण थालनी गर्न भवन शिलान्यास गरिएको हो।
तेह्र कठ्ठा क्षेत्रफलमा रु १९ करोड ६२ लाख ४५ हजार २७ लागतमा अस्पताल निर्माण हुन लागेको नगरपालिकाका स्वास्थ्य शाखा संयोजक राजनारायण ठाकुरले जानकारी दिए। उनका अनुसार नगर प्रमुख आतेशकुमार सिंहको प्रमुख अतिथिमा भवन शिलान्यास गरिएको हो।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले देशभर पाँच, १० र १५ शय्यासम्मको अस्पताल नभएका स्थानीय तहमा भवन बनाउने योजना बनाए अनुसार बोदेबरसाइनमा निर्माण प्रक्रिया अघि बढेको संयोजक ठाकुरले बताए। अस्पताल सञ्चालनमा आएपछि सामान्य बिरामी हुँदा पनि पालिकाबाहिर पठाउनुपर्ने बाध्यता अन्त्य हुने उनको भनाइ छ।
विसं २०८४ मङ्सिरसम्ममा सम्पन्न गर्नेगरी भवन निर्माणको जिम्मा काभ्रेको न्यू ड्राइगन निर्माण सेवा प्रालिलाई दिइएको नगर कार्यालयले जनाएको छ। भवन शिलान्यास कार्यक्रममा उपप्रमुख रेणुकुमारी साह, वडाध्यक्ष मोमोजिबुर रहमान, राजकुमार यादव, तपसी यादव, नगरपालिकाका कर्मचारी, जनप्रतिनिधि, स्वास्थ संयोजक ठाकुरलगायत स्थानीयको उपस्थिति थियो।
तीन वर्ष भित्र निर्माण सम्पन्न गर्ने गरी बहुवर्षीय ठेक्का प्रक्रिया अघि बढाउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नीति योजना महाशाखाले सहमति दिएपछि सोही अनुसार कार्य भइरहेको नगरपालिकाका इञ्जिनीयर दिनेश ठाकुरले जानकारी दिए।