काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मातहतका विभिन्न १५ वटा संघीय अस्पताल तथा प्रतिष्ठानहरुको शय्या क्षमता सार्वजनिक गरेको छ।
मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार १५ वटा अस्पतालमा गरेर ५ हजार ३८६ शय्या रहेका छन्।
संघीय अस्पतालमध्ये सबैभन्दा धेरै वीर अस्पताल ९६० शय्या क्षमताको छ। त्यसपछि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ९१३ शय्या रहेको छ। राष्ट्रिय ट्रमा सेन्टरमा २०० शय्या, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङ ३०० शय्या, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरा ३८० शय्या क्षमताका रहेका छन्।
परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल काठमाडौँमा ४८९ शय्या, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु १०० शय्या, कान्ति बाल अस्पताल महाराजगञ्ज काठमाडौंमा ३७२, भक्तपुर क्यान्सर अस्पताल भक्तपुर १५० शय्या, भरतपुर अस्पताल चितवनमा ६०० शय्या क्षमताका छन्।
नारायणी अस्पताल वीरगञ्जमा २५० शय्या, डडेल्धुरा अस्पताल डडेल्धुरा १०० शय्या, बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल चितवन ४५० शय्या र सुशील कोइराला प्रखर क्यान्सर अस्पताल बाँके ७२ शय्या क्षमताका छन्।