काठमाडौं- नेपाल चिकित्सकको चौथो राष्ट्रिय सम्मेलन सकिएको छ। काठमाडौंमा दुई दिनसम्म चलेको सम्मेलन ९ बुँदे घोषणा पत्र सार्वजनिक गर्दै समापन भएको हो।
हेल्थ बियोन्ड हेल्थ मुख्य विषयमा केन्द्रित रहेर दुई दिनसम्म विभिन्न सात वटा उपविषयमा छलफल भएको थियो। छलफलमा उठेका विषयलाई समेटेर संघले ९ बुँदे घोषणा जारी गरेको हो।
संघका अध्यक्ष डा अनिल कार्कीले उक्त घोषणा पत्र स्वास्थ्य सचिव डा रोशन पोखरेललाई हस्तान्तरण गरेका छन्। सचिव डा पोखरेलले घोषणा पत्रमा रहेका विषयलाई कार्यान्वयन गर्दै अगाडि बढ्ने जानकारी दिए।
संघले स्वास्थ्यलाई समतामूलक बनाउन पहल गर्दै मौलिक हकका रुपमा रहेको स्वास्थ्यको व्यवस्थालाई पूर्ण रुपमा कार्यान्वयनमा लैजान पहल गर्ने, स्वास्थ्यमा पहुँच बढाउनका लागि नागरिकलाई अनिवार्य स्वास्थ्य बीमामा आवद्ध गरी विद्यमान कानुनी व्यवस्थाको कार्यान्वयन गर्दै थप परिष्कृत गर्ने, नेपालको भूगोल, जनसंख्या र रोगको प्रकृति तथा भार हेरी अनुसन्धानमा आधारित स्वास्थ्य नीति तर्जुमा गरी प्रणालीगत सुधार गर्न कदम चाल्ने, नसर्ने रोगको भार कम गर्न जीवनशैली र बानीव्यवहार परिवर्तनका कार्यक्रमहरु समुदायस्तरबाटै सञ्चालन गर्नेतर्फ जोड दिन पहलकदमी लिने, चिकित्सा शिक्षा आयोगको स्थापनापछि प्राप्त उपलब्धिलाई थप व्यवस्थित गर्दै समयसान्दर्भिक रुपमा ऐन तथा कानुनहरु संशोधनका लागि पहल गर्ने, स्वास्थ्य पत्रकारिता र स्वास्थ्य जनशक्तिबीच सहकार्य गर्ने विषय घोषणापत्रमा उल्लेख छ।
यसैगरी, स्वास्थ्य क्षेत्रको विकास र विस्तार तथा यसका चुनौतीहरुको समाधान स्वास्थ्य मन्त्रालयको एकल प्रयासबाट सम्भव नहुने भएकाले बहुपक्षीय तथा बहुक्षेत्रीय सहयोग र सहकार्य अगाडि बढाउने, व्यवसायजन्य स्वास्थ्यका विषयर र महामारी तथा विपदजन्य स्वास्थ्यका क्षेत्रम प्रभावकारी काम गर्ने विषय पनि घोषणापत्रमा रहेका छन्।