काठमाडौँ- अङ्ग प्रत्यारोपण सम्वन्धी दुई दिने सम्मेलन ‘द हिमालयन ट्रान्सप्लान्ट कन्फ्रेन्स’ काठमाडौंमा जारी छ। अङ्ग प्रत्यारोपणमा सक्रिय चिकित्सकहरुले संस्थाको संयुक्त आयोजनामा विश्वका विभिन्न देशका चिकित्सकको उप्सथितिमा सम्मेलन भइरहेको हो।
शनिबार बिहानदेखि नयाँ बानेश्वरस्थित द एभरेष्ट होटलमा सम्मेलन सुरु भएको हो। औपचारिक उद्घाटन भने बेलुकी ६ बजे गरिएको थियो। स्वास्थ्य सचिव डा रोशन पोखरेलले उद्घाटनका क्रममा बोल्दै उनले अंग प्रत्यारोपण सरकारको प्राथमिकतामा रहेको बताए। उनले भने, नेपाल सरकारले अंग प्रत्यारोपण प्राथमिकतामा राखेको छ । यो सेवा ७ वटै प्रदेशमा कसरी लैजान सकिन्छ भन्नेबारे हामी छलफल गरिरहेका छौं। यो सेवालाई अझै पहुँचयोग्य, सस्तो र सुलभ बनाउन हामी सक्रिय छौं।'
उनले राज्यको आर्थिक दायित्वले नसक्दा नसक्दै पनि अंग प्रत्यारोपण भएको प्रगतिका लागि यो क्षेत्रमा सक्रिय सबैलाई धन्यवाद दि । सम्मेलनबाट आउने सुझाव र निष्कर्ष लागु गर्न प्रयास आफ्नो तर्फबाट हुने बचन दिए।
सम्मेलनमा नेपालसंगै भारत, बेलायत, अमेरिका, जापान, नेदरल्याण्ड लगायतका देशबाट प्रत्यारोपण विज्ञ तथा यससंग सरोकार राख्ने व्यक्तिहरुको सहभागिता छ। सम्मेलनमा २६ वटा कार्यपत्र प्रस्तुत हुँदैछन् र त्यसमा १९ वटा विदेशी विज्ञहरुको सहभागी छन्।
शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक तथा अंग प्रत्यारोपण समाज नेपालका अध्यक्ष डा पुकारचन्द्र श्रेष्ठले यस सम्मेलनमा हुने छलफल र विचार विमर्शले विश्वभर अंगदानलाई प्रवर्द्धन गर्न र अंग प्रत्यारोपणमा सहजता ल्याउन उत्प्रेरित गर्नर् बताए। उनले भने, 'अंगदान प्रवर्द्धन गर्न चेतना, शिक्षा र नीति सुधारको पक्ष महत्वपूर्ण छ। सांस्कृतिक, नैतिक र पूर्वाधारात्मक चुनौतिहरूलाई सम्बोधन गरेर आवश्यक परेकाहरूलाई प्रत्यारोपणका लागि अंग प्राप्त गर्न सक्ने प्रणाली निर्माण गर्ने लक्ष्य लिएका छौं।'
कार्यक्रमको साइन्टिफिक कमिटिका अध्यक्ष प्राडा ऋषि कुमार काफ्लेले मिर्गौला रोगको उपचार र हेमोडाइलाइसिस सेवा सुरु भएको लामो समयपछि प्रत्यारोपण सुरु भएको बताए। नेपालमा मिर्गौला प्रत्यारोपणमा निरन्तर उपलब्धी हासिल भइरहेको बताए। यसैगरी अमेरिकी चिकित्सक डा. डोरी सेगेभले १० वर्षअघि डा पुकारसँग भेट भएपछि ल्याप्रोस्कोपिक सर्जरी सेवा सञ्चालनको लागि सहयोग गर्न नेपाल आएको स्मरण गरे। उनले यहाँको सुन्दरता र सौहार्दताले आफूलाई लोभ्याएको उल्लेख गरे।
सोसाइटीको नव निर्वाचित अध्यक्ष डा दिब्या सिंह शाह र कोषाध्यक्ष डा दिपेश श्रेष्ठ, सम्मेलन आयोजक समितिको सचिव डा कल्पनाकुमारी श्रेष्ठ लगायतले यस्ता प्रकारका सम्मेलनबाट प्रत्यारोपणका क्षेत्रका ख्याती प्राप्त प्रतिष्ठित व्यक्तित्वहरूलाई एउटै छानामुनि ल्याई अंगदान र प्रत्यारोपण सम्बन्धी सीप र ज्ञानको आदानप्रदान गरी अंग प्रत्यारोपणलाई सफल बनाउन मद्दत पुर्यााउने बताए।