काठमाडौँ- ‘मेरो स्वास्थ्य मेरो जिम्मेवारी’ भन्ने मूल नारा सहित बर्दियाको गेरुवा गाउँपालिकाका सबै वडाका महिला/आमा समूह तथा महिला स्वास्थ्य स्वयंसेविकालाई स्वस्थकर जीवनशैली प्रवर्धनमा भान्सा सुधार अभिमुखीकरण तालिम दिइएको छ।
गेरुवा गाउँपालिकाको आव २०८१।०८२ को वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत मनाउ आयुर्वेद औषधालयको आयोजनामा पालिकाका सबै वडाका आमा समूहका अध्यक्ष तथा महिला स्वास्थ्य स्वयंसेविका गरी जम्मा १५० जनालाई तालिम दिइएको हो।
वर्तमान अवस्थामा अस्वस्थकर जीवनशैली तथा आहार बिहारका कारण नसर्ने रोगहरुको प्रकोप बढेकोले त्यस्ता रोगहरुबाट बच्न भान्सा सुधार अभिमुखीकरण कार्यक्रमले सहयोग पुर्याउने बताइएको छ।
मुटुगत रोग, क्यान्सर, मधुमेह, दम जस्ता रोगहरुबाट बच्न स्वस्थकर आहार–विहार गर्ने, शारीरिक क्रियाकलापमा ध्यान दिने, योगा, ध्यान, प्रणयाम गर्ने, स्वस्थकर जीवनशैली अपनाउने, दैनिक जीवनमा उपलब्ध हुने स्वस्थकर जडीबुटीहरु तथा आफ्नै करेशाबारीमा उत्पन्न बस्तुहरुको सेवन गर्ने, पत्रु खानाबाट बच्ने आदि गर्दा केही मात्रामा नसर्ने रोग न्यूनीकरण गर्नको लागि भान्सा सुधार आवश्यक रहेको सहभागी अतिथिहरुले बताएका थिए।
कार्यक्रममा प्रमुख अतिथि गेरुवा गाउँपालिका अध्यक्ष जमान सिंह केसी, विशिष्ट अतिथि उपाध्यक्ष लक्ष्मी कुमारी चौधरी, विशिष्ट अतिथि प्रमुख प्रशासकीय अधिकृत नरबहादुर चन्द, अतिथि आर्थिक शाखा प्रमुख सुदिप सिग्देल, गेरुवा गाउँपालिकाका सम्पूर्ण वडाअध्यक्षहरु, स्वास्थ्य शाखा प्रमुख नारायणप्रसाद भण्डारी लगायत जनप्रतिनिधिहरु, समाजसेवी, स्थानीय सञ्चारकर्मीहरु, सबै हेल्थ पोष्ट इन्चार्जहरु लगायत सबैको उपस्थितिमा सबै वडामा कार्यक्रम सम्पन्न भएको थियो।
उक्त कार्यक्रमको सहजीकरण डा शिवराज सुवेदी तथा डा सन्देश अधिकारीले गरेका थिए भने समन्वय यमबहादुर थारु र सुनिल पौडेलले गरेका थिए।