काठमाडौं- काठमाडौंमा नेपाली औषधि उद्योगहरुलाई 'बाइपास' गर्दै विदेशी उद्योगको प्रचार गर्ने उद्देश्यसहित तीन दिने 'नेपाल फर्मा एन्ड हेल्थ अन्तराष्ट्रिय प्रदर्शनी' हुने भएको छ।
नेपाल फर्मा एन्ड हेल्थ भनेर प्रदर्शनीको नाम राखिए पनि उक्त प्रदर्शनीमा नेपालका औषधि उत्पादक, रसायन तथा मेडिकल आपूर्तिकर्ताहरु लगायतको सहभागिता भने हुने छैन।
भारतको एक कम्पनीको अगुवाईमा भारतीय औषधि उद्योगहरुको प्रचार गर्ने गरी प्रदर्शन आयोजना गरेको भन्दै नेपालका सरोकारवालाहरुले उक्त प्रदर्शनीमा सहभागिता नजनाउने भएका छन्।
मिडिया स्पेस सोलुसन्स (एमएसएस), फ्युचरेक्स ट्रेड फेयर्स एन्ड इभेन्ट्स् प्रालि तथा एक्जिबिसन एन्ड ट्रेड सर्भिसेस इन्डिया प्रालि (इटिएसआइपिएल) को संयोजकत्वमा शुक्रबारदेखि आइतबारसम्म भृकुटीमण्डपमा प्रदर्शनीको आयोजना गरिएको छ।
उक्त प्रदर्शनमा नेपालका कुनै पनि औषधि उद्योगको सहभागिता नरहेको नेपाल औषधि उत्पादक संघका वरिष्ठ उपाध्यक्ष प्रभात रुंगटाले जानकारी दिए।
'यसमा नेपाली औषधि उद्योगको सहभागिता छैन। उनीहरुले न्यूट्रास्युटिकल्स तर्फ बढी केन्द्रित गरेका छन् रे भन्ने सुनेको छु। यो एक्सपोका विषयमा हामीलाई सोधेकाहरुलाई हामीले यो कार्यक्रम हाम्रो होइन भनेका छौं। यसमा नेपाली उत्पादक सहभागि छैनन् भनेका छौं,' उनले भने।
उनले नेपाल फार्मा एक्सपो नेपाल औषधि उत्पादक संघले हरेक दुई दुई वर्षमा गर्दै आइरहेको र अहिले त्यही नाममा अरुले अर्को प्रदर्शनी गर्नु राम्रो कुरा नभएको बताए। उनले अहिले हुन लागेको प्रदर्शनीमा औषधि उत्पादक मात्र नभएर रसायन तथा मेडिकल आपूर्तिकर्ताहरुको संस्था, चिकित्सकहरुको संस्था, आयुर्वेद क्षे लगायतका सरोकारवालाहरुको सहभागिता नरहेको पनि जानकारी दिए।
'नेपालमा एक्स्पो गर्दा नेपाली उत्पादकहरुको सहभागिता हुने, नेपाली उद्योगको प्रवर्धन र विकासका कुरा हुने हुनु पर्ने हो। तर यसमा छैन। यहाँको औषधि बजार, यहाँको स्वास्थ्य क्षेत्रको संवोधन नगरी यहाँका सरोकारवालाहरुको विषय संवोधन नगरी गरेको कार्यक्रम के हो भन्ने आफैं मूल्यांकन गर्नुहोला,' उनले भने, 'अब यसखाले कार्यक्रमको स्टान्डर्ड र औचित्य कतिको ठिक हो बेठिक हो आफैंले मूल्यांक गर्नपर्ने बेला आएको छ।'
एमएसएस तथा इटिएसआइपिएलको संयोजकत्वमा भइरहेको प्रदर्शनीमा सहयोगी संस्थाको भूमिकामा नेपाल फर्मास्यूटिकल एसोसिएसन्, नेपाल औषधि व्यवसायी संघ (काठमाडौँ जिल्ला शाखा) तथा नेपाल औषधि तथा बिक्री प्रतिनिधि संघ काठमाडौं इकाई रहेको आयोजकले जनाएको छ।
प्रदर्शनीमा औषधोपचार, स्वास्थोपचार तथा फार्मेसीसँग सम्बन्धित स्वदेशी तथा विदेशी गरी १०० भन्दा बढि कम्पनीहरुको स्टल रहेको आयोजकको दाबी छ। 'नेपाल फर्मा एन्ड हेल्थ अन्तराष्ट्रिय प्रदर्शनी तथा नेपाल हस्पिटल, सर्जिकल तथा मेडिकल अन्तराष्ट्रिय प्रदर्शनीका तीन विशेषताहरू छन् – प्रदर्शनी, सम्मेलन र साझेदारी,' आयोजकद्वारा जारी आधिकारिक प्रेस विज्ञप्तिमा भनिएको छ, 'यी तीन विशेषताहरूलाई एउटै ठाउँमा ल्याई नेपालका विभिन्न फर्मा र हेल्थकेयर उद्योगलाई जोड्न, सम्बन्ध निर्माण गर्न र व्यापार अवसरहरू बढाउनका लागि यो प्रदर्शनीले केन्द्रीय भूमिका निर्वाह गर्ने छ।'
नेपाल फर्मा र हेल्थ प्रदर्शनीले स्थानीय औषधि, चिकित्सा र स्वास्थ्य सेवा उद्योगका लागि सञ्जालको काम पनि गरी औषधोपचारको क्षेत्रमा नयाँ आविष्कारदेखि नयाँ औषधिको विकाससम्मको विश्वव्यापी नवीनता प्रविष्ट गराउने माध्यम पनि बन्ने उनीहरुको भनाइ छ।
'यो प्रदर्शनीले विभिन्न देशका कम्पनिहरू र ब्राण्डहरू सहित बिजिनेस लिडरहरू, डाक्टरहरू, वैज्ञानिकहरू, रोग विशेषज्ञहरू, अनुसन्धानकर्ताहरू, सरकारी अधिकारीहरू, नीति निर्माताहरू र उद्योग पेशेवरहरूलाई एकसाथ समेट्ने छ । यो एक्सपोले नयाँ आविष्कारहरू र नयाँ बजारको खोजी गर्दै नेपालको चिकित्सा र प्रयोगशाला उद्योगलाई आवश्यक उचाईमा लिएर जानेछ भन्ने कुरामा आयोजक विश्वस्त छन्,' विज्ञप्तिमा भनिएको छ।