दाङ- दाङसँग सिमाना जोडिएको तर विकट मानिने रोल्पाको होलरीमा विशेषज्ञ चिकित्सक पुगेर सेवा शुभारम्भ गरेपछि स्थानीय नागरिकहरु खुसी भएका छन्। राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले केही दिन अघिदेखि होलेरी स्वास्थ्य केन्द्रमा विशेषज्ञ चिकित्सक खटाएर सेवा प्रारम्भ गरेपछि त्यहाँका जनतामा खुसियाली छाएको हो।
गाँउघरमै विशेषज्ञ चिकित्सक प्राप्त गरेपछि अब सामान्य उपचारका लागि घोराही धाउनुपर्ने बाध्यता हट्ने स्थानीयको विश्वास छ।
रुन्टीगढी गाउँपालिका र प्रतिष्ठानको सहकार्यमा सेवा शुभारम्भ कार्यक्रममा लुम्बिनी प्रदेशका पूर्व स्वास्थ्य मन्त्री तथा प्रदेश सभा सदस्य दीपेन्द्र पुन मगर, प्रतिष्ठानका रजिष्ट्रार प्रा श्याम लम्साल, प्रतिष्ठानका निर्देशक डा जनार्दन पन्थी, गाउँपालिका अध्यक्ष जनक पुन मगर, उपाध्यक्ष सरिता केसी, अस्पताल व्यवस्थापन समितिका अध्यक्ष चेतलाल खत्री लगायतको उपस्थिति रहेको थियो।
स्वास्थ्य क्षेत्रमा पहुँच नपुगेका बस्ती तथा निम्न वर्गका नागरिकलाई लक्षित गरेर होलेरीमा विशेषज्ञ सहित सेवा शुभारम्भ गरिएको रजिष्ट्रार लम्सालले बताए। प्रतिष्ठान दाङले छिमेकी जिल्ला रोल्पामा पुसको १ गतेदेखि लागू हुने गरी एमबीबीएस डाक्टर पठाएको हो।
प्रतिष्ठानले दुर्गम जिल्लामा पनि आफ्नो सेवा विस्तार गर्ने निर्णय गरी एमबीबीएसको पढाइ सुरु गर्न थालेपछि रोल्पाको होलेरीमा एमबीबीएस डाक्टर पठाएको र गाउँमै स्थानीयले चिकित्सकबाट उपचार प्राप्त गरुन् भन्ने उद्देश्यले सेवा शुभारम्भ गरिएको रजिष्ट्रार लम्सालको भनाइ छ।
होलेरीमा एमबीबीएस चिकित्सकको व्यवस्था भएसँगै स्थानीयले विशेषज्ञ सेवा पाएको प्रतिष्ठानका निमित्त निर्देशक डा जनार्दन पन्थीले बताए।
एमबीबीएस पढाइको लागि प्रतिष्ठानले ५० सिट प्राप्त गरेसँगै होलेरी प्राथमिक स्वास्थ्य केन्द्रलाई कम्युनिटी आउट रिच सेन्टरको रुपमा रहने गरी चिकित्सक व्यवस्थापन गर्न थालेको हो।
गत असारदेखि होलेरी अस्पतालमा एमबिबीएस चिकित्सक छैनन्। त्यसले गर्दा बिरामीले सामान्य उपचारका लागि पनि दाङको घोराही आउनुपर्ने बाध्यता छ।
हाल प्रतिष्ठानमा एमडीजीपीमा दुई जना चिकित्सकले स्नातकोत्तर पढिरहेका छन। तीमध्ये एक जनालाई निकट भविष्यमै रोल्पाका लागि खटाउने तयारी प्रतिष्ठानले गरेको हो।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र रुन्टीगढी गाँउपालिका होलेरी रोल्पाबीच जनशक्ति व्यवस्थापनबारे सम्झौता भए बमोजिम प्रतिष्ठानले चिकित्सकको व्यवस्थापन गरेको हो। एमबीबीएस चिकित्सकको व्यवस्था भएमा त्यहाँका स्थानीयले २४सै घण्टा स्वास्थ्य सेवा प्राप्त गर्ने प्रतिष्ठानका रजिष्ट्रार प्राध्यापक लम्सालले बताए।