काठमाडौँ- स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले नेपालको स्वास्थ्य क्षेत्र क्रमिक रुपमा सुधारको बाटोमा अग्रसर भइरहेको बताएका छन्। काठमाडौँमा जारी दुई दिने स्वास्थ्य सम्मेलनलाई बिहीबार सम्बोधन गर्दै उनले स्वास्थ्य क्षेत्र पूर्ण रुपमा सुधार गर्नका लागि नेपाल बाहिर र भित्र बसेका सबै नेपालीको योगदान महत्वपूर्ण हुने बताए।
‘मैले स्वास्थ्य सेवा सुधारका लागि काम सुरु गरिसकेको छु। नेपाल बाहिर र भित्र रहेका सबै जनशक्ति मिलेर नेपाल बनाउनुपर्ने आवश्यकता छ। त्यसका लागि तपाईंहरुको सुझावको अपेक्षा गर्दछु, ’ मन्त्री पौडेलले भने।
कार्यक्रममा उनले स्वास्थ्य बीमा, जनशक्ति वृद्धि, औजार मर्मत लगायत विषयमा कार्य भइरहेको बताए। उनले भने, ‘बीमाको क्षेत्रमा, औषधिको क्षेत्रमा, जनशक्ति वृद्धि गर्ने सन्दर्भमा हामीले काम सुरु गरिसकेका छौँ। उपकरण बनाउने सन्दर्भमा, भवनलाई व्यवास्थित बनाउने सन्दर्भमा, स्रोत बढाउने सन्दर्भमा काम अघि बढाएका छौँ।’
मन्त्री पौडेलले अगाडि भने, ‘नेपालको स्वास्थ्य क्षेत्र सुधार कसरी गर्ने, नेपाललाई स्वास्थ्य क्षेत्रमा सहयोग गर्न के कुराले समस्या भयो, बाहिर बस्ने नेपालीलाई नेपाल फर्किन के कुराले रोक्यो, नेपाल फर्कनेहरुलाई फर्कने वातावरण कसरी बनाउन सकिन्छ, नेपालको स्वास्थ्य क्षेत्रमा योगदान गर्न सकिने उपाय खोज्नका लागि यहाँहरुबाटै सुझावको अपेक्षा गरेका छौँ।’
प्रवासी चिकित्सक, स्वास्थ्यकर्मी र जनस्वास्थ्यकर्मीहरूको ज्ञान, सिप र स्रोतलाई नेपालको स्वास्थ्य प्रणाली सुदृढ बनाउन प्रयोग गर्ने उद्देश्यसहित काठमाडौँमा दुईदिने सम्मेलन आयोजना गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।