काठमाडौँ- उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंह समक्ष नेपाल स्वयंसेवी रक्तदाता समाजले ज्ञापन-पत्र बुझाएको छ।
समाजले निःशुल्क रगत र रक्त-तत्वहरू उपलब्ध गराउन उपप्रधानमन्त्री सिंहलाई ज्ञापन-पत्र बुझाएको समाजका केन्द्रीय अध्यक्ष प्रेमसागर कर्माचार्यले जानकारी दिए।
ज्ञापन-पत्रमा राज्यद्वारा मानव रगत र रगतबाट तयार पारिएका रक्त-तत्वहरूलाई निःशुल्क उपलब्ध/ वितरण गराउने/गर्ने नीति लिए तापनि हालसम्म परीक्षण शुल्कको रुपमा अनावश्यक बढी रकम असुलिरहेको विद्यमान परिस्थितिले विपन्न वर्गका बिरामीहरुलाई ठूलो आर्थिक भार आइरहेको उल्लेख छ।
समाजले त्यस्तो परिस्थितिलाई न्यूनीकरण गर्न स्थानीयहरुको सहभागिता र स्थानीय सरकारबीच समन्वय गर्दै निःशुल्क रगत वितरणको कार्यको पनि थालनी गरी सेवा प्रवाह गरिरहेको ज्ञापनपत्रमा जनाइएको छ। ज्ञापन-पत्रमा वर्षेनी मनाउँदै आइरहेको राष्ट्रिय स्वयंसेवी रक्तदाता दिवस माघ १५ लाई राष्ट्रिय स्वयंसेवी रक्तदाता दिवसको रुपमा घोषणा गर्न माग गरिएको छ।