काठमाडौं- बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयको सचिवमा डा सुमित्रा गौतमले जिम्मेवारी पाएकी छिन्।
प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछानेका अनुसार डा गौतमलाई स्वास्थ्य सचिवले जिम्मेवारी तोकिएको हो।
डा गौतम सोमबार प्रदेशको मुख्यमन्त्री कार्यालयमा सरुवा भएकी थिइन्। मुख्यमन्त्री कार्यालयमा सरुवा हुनुअघि उनी भक्तपुर अस्पतालको निर्देशक थिइन्।
प्रदेश स्वास्थ्य मन्त्रालयमा सचिव पद रिक्त थियो। रिक्त रहेको पदमा बिहीबार बसेको प्रदेश मन्त्रिपरिषदको बैठकले डा गौतमलाई जिम्मेवारी दिएको हो। स्वास्थ्य मन्त्रालयका सचिव बद्रीबहादुर खड्काले गत असोजमा अनिवार्य अवकाश पाएदेखि नै मन्त्रालयमा सचिव पद रिक्त थियो।
डा गौतम प्रसूति तथा स्त्रीरोग विशेषज्ञ हुन्।