धनगढी- सडक दुर्घटनामा परी जनस्वास्थ्य निरीक्षक धर्मराज खत्रीको मृत्यु भएको छ। धनगढीमा दुई मोटरसाइकल आपसमा ठोक्किँदा खत्रीको मृत्यु भएको प्रहरीले जनाएको छ।
बाजुराको बढीमालिका नगरपालिका-७ स्थित चुथी स्वास्थ्य चौकीमा कार्यरत खत्री धनगढीमा आयोजना भएको तालिममा सहभागी हुन आउने क्रममा दुर्घटनामा परेका हुन्।
प्रहरीका अनुसार बिहीबार साँझ साढे ६ बजे धनगढी उपमहानगरपालिका-३ को लक्ष्मी नर्सरीनजिकै अतरियाबाट धनगढी आउँदै गरेका दुईवटा मोटरसाइल आपसमा ठोक्किएका थिए।
डोटीको शिखर नगरपालिका-११ बस्ने २५ वर्षीया शर्मिला थापाले चलाएको सुप्रप ०१००७११प नम्बरको मोटरसाइलले पछाडिबाट ठक्कर दिएको थियो। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार धनगढी-५ का २५ वर्षीय पुरन शाहले चलाएको सुपप्र ०१२प ९४१६ नम्बरको मोटरसाइलमा खत्री पछाडि सवार थिए।
दुर्घटनामा मोटरसाइकल चालक पुरनको पेट र मुखमा चोट लागेको छ। खत्रीको टाउकोमा चोट लागेर गम्भीर घाइते भएका थिए। उनको सेती प्रादेशिक अस्पतालमा उपचार क्रममा बिहिवार साँझ मृत्यु भएको हो।