नयाँ दिल्ली- भारतका पूर्वप्रधानमन्त्री डा मनमोहन सिंहको निधन भएको छ। पूर्वप्रधानमन्त्री सिंहको ९२ वर्षको उमेरमा बिहीबार राती ९ बजेर ५१ मिनेटमा दिल्लीको एम्स अस्पतालमा उपचारका क्रममा निधन भएको हो।
दुई कार्यकाल भारतको प्रधानमन्त्री बनेका डा सिंहको उमेरसँग सम्बन्धित स्वास्थ्य समस्याको उपचारका क्रममा निधन भएको अस्पतालले जनाएको छ। अस्पतालले जारी गरेको बुलेटिन अनुसार बिहीबार घरमा अचानक बेहोस भएका सिंहलाई बेलुका ८ बजेर ६ मिनेट जाँदा अस्पतालको आकस्मिक कक्षमा लगिएको थियो।
अस्पतालले उनलाई बचाउने सबै प्रयासका बाबजुद राति ९ बजेर ५१ मिनेटमा मृत्यु भएको जनाएको छ।
कांग्रेसका दिग्गज नेताको रुपमा परिचित उनी सन् २००४ देखि २०१४ सम्म भारतको प्रधानमन्त्री बनेका थिए।
पूर्वप्रधानमन्त्री सिंहको निधनपछि भारतमा ७ दिन राजकीय शोक घोषणा गरिएको छ।