काठमाडौं- वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षणमा देखिएको सिन्डिकेट तत्कालै अन्त्य गर्न नेपाल मेडिकल व्यवसायी संघले सरकारसँग माग गरेको छ। श्रमिकको स्वास्थ्य परीक्षणमा देखिएको सिन्डिकेट अन्त्य हुनुपर्ने माग संघले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो।
मलेसिया जाने श्रमिकको स्वास्थ्य परीक्षणमा भएको सिन्डिकेट अन्त्य गर्न सरकारसँग पटक-पटक माग गर्दा समेत सरकारले बेवास्ता गरेको संघका महासचिव कृष्णप्रसाद बजगाईंले बताए।
देशैपिच्छे स्वास्थ्य क्षेत्रमा सिन्डिकेट देखिएको बताउँदै त्यो अन्त्य गर्नु सरकारसँग माग गर्दै उनले मलेसियामा मरिसकेको सिन्डिकेट यो वा त्यो बहानामा जन्मिनु नहुने बताए।
उनले दुई अर्ब बढी लगानी रहेको, दुई हजारभन्दा बढी प्राविधिक कर्मचारीको संलग्नता रहेको र करिब १० हजार व्यक्तिहरू आश्रित रहेको क्षेत्र सिन्डिकेटको नाममा तहसनहस बनाउन खोजिएको पनि बताए।
गुणस्तरीय सेवा निश्चित गर्न प्रणालीमा सुधार गर्नुपर्ने बताउँदै उनले वैदेशिक रोजगारमा जाने श्रमिकको स्वास्थ्य परीक्षण सम्बन्धी व्यवस्था तथा वैदेशिक रोजगार ऐन परिमार्जन गर्नुपर्ने माग समेत राखे।
वैदेशिक रोजगारमा जाने श्रमिकको स्वास्थ्य परीक्षण गर्ने सम्पूर्ण स्वास्थ्य संस्थाहरूमा एकरूपता कायम हुने स्वास्थ्य परीक्षण प्रतिवेदन तयार गरी सबै देशको स्वास्थ्य परीक्षण सबै स्वास्थ्य संस्थाले गर्न पाउने गरी एकै किसिमको सफ्टवेयर प्रणाली अनिवार्य रूपमा स्वास्थ्य संस्थाहरूमा लागू गर्नुपर्ने माग राखे।
संघले सबै देशको स्वास्थ्य परीक्षण शुल्क वैज्ञानिक ढंङ्गले निर्धारण गरी एकरूपता कायम गरिनुपर्ने समेत माग गरेको छ। संघले केही व्यवसायीले मलेसियामा सिन्डिकेट लादेको बताउँदै अन्त्य गर्नुपर्ने माग गरे। हाल श्रम मन्त्रालय अन्तरगत २१२ वटा स्वास्थ्य संस्था दर्ता भएर स्वास्थ्य परीक्षण गराउँदै आएकामध्ये ३६ वटा संस्थाले मलेसियामा सिन्डिकेट लगाइरहेको आरोप छ।