काठमाडौं - देशमा ज्येष्ठ नागरिकको संख्या बढ्दै गइरहेकाले बुढ्यौलीपनलाई व्यवस्थित गर्नुपर्ने सरोकारवालाहरुको निचोड छ।
आज आयोजित स्वस्थकर बुढ्यौली सम्बन्धि पैरवी कार्यक्रममा स्वस्थकर तथा मर्यादित बुढ्यौलीका लागि परिवारले निर्वाह गर्नुपर्ने जिम्मेवारीका विषयमा व्यापक छलफल भएको हो। रोटरी इन्टरनेशनलको आयोजनामा भएको उक्त कार्यक्रममा बुढ्यौलीपनलाई कसरी राम्रो बनाउने भन्ने विषयमा विभिन्न क्षेत्रका व्यक्तिहरुसँग छलफल भएको हो।
हाल बुढ्यौलीपनको अवस्थामा मान्छेले बिर्सने खालको समस्याहरु भोग्नुपर्ने तथा नेपाली समाजमा यसलाई ठूलो रुपमा नलिने गरेको अवस्थामा यो कार्यक्रमले सचेतना दिन सक्ने ज्येष्ठ नागरिक रोग विशेषज्ञ डा रमेश कंडेलले बताए।
उनले बुढ्यौली हुँदै गएपछि स्वास्थ्य जाँच गराउनुपर्ने र परिवारका सदस्यहरुलाई यस्तो अवस्थामा कसरी हेरचाह गर्ने भन्ने ज्ञान हुनुपर्ने बताए। ज्येष्ठ नागरिकको संख्या बढ्दै गइरहेको अवस्थामा बुढ्यौलीपनलाई कसरी राम्रो बनाउने भन्ने ज्ञान सबैमा हुनुपर्ने उनको धारणा थियो।
स्थ्य सेवा विभागका महानिर्देशक डा विकास देवकोटाले वृद्धावस्थामा परिवारको सामीप्यता आवश्यक पर्ने भएकोले अन्य सदस्यहरुले उनीहरूको कुरा सुनिदिने बानीको विकास गर्नुपर्ने बताए। सबैले ज्येष्ठ नागरिक बोझ नभई जिम्मेवारी हुन् भन्ने बुझ्नुपर्ने उनको धारणा थियो।
नेपालमा ६० वर्षभन्दा माथिको उमेरलाई ज्येष्ठ नागरिकको रुपमा लिने गरिएको छ। औसत आयु ६० वर्ष भन्दा कम रहेको अवस्थामा ६५ वर्ष माथिको जनसंख्या कम हुने भएकोले पनि ६० वर्ष भन्दा माथिको जनसंख्यालाई ज्येष्ठ नागरिक भनिएको सरोकारवालाहरु बताउँछन्। हाल औसत आयुको वृद्धिसँगै ज्येष्ठ नागरिकको जनसंख्या बढ्दो गतिमा छ।