काठमाडौं- नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)ले यस वर्षको 'विज्ञान तथा प्रविधि युवा पुरस्कार २०८१' डा सुनिल श्रेष्ठलाई प्रदान गरेको छ।
नेपाली स्वास्थ्य सेवा र अनुसन्धानको क्षेत्रमा विशिष्ट योगदान पुर्यारएको भन्दै डा श्रेष्ठलाई उक्त पुरस्कार प्रदान गरिएको नास्टले जनाएको छ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले डा श्रेष्ठलाई एक कार्यक्रममा उक्त पुरस्कार प्रदान गरेकी छिन्।
डा श्रेष्ठको योगदानले क्यान्सर हेरचाह, पीडा व्यवस्थापन र औषधि सुरक्षामा नयाँ मापदण्ड स्थापित गरेको सम्मान कार्यक्रममा जानकारी दिइएको छ।
पुरस्कार ग्रहण गर्दै डा श्रेष्ठले भने, 'क्यान्सरको पीडाको व्यवस्थापन, औषधि उपचारको सुरक्षालाई प्रभावकारी बनाउने र स्वास्थ्य सेवामा प्रमाण-आधारित अभ्यासको एकीकरण गर्ने मेरो प्रयासको मान्यता स्वरूप यो पुरस्कार पाउँदा गर्व र कृतज्ञता महसुस गरेको छु।'
डा श्रेष्ठ हाल काठमाडौं क्यान्सर सेन्टर, ताथली, भक्तपुरमा वरिष्ठ क्लिनिकल फार्मासिस्ट र अनुसन्धान वैज्ञानिकको रूपमा कार्यरत छन्।
डा सुनिल श्रेष्ठले क्यान्सरको जटिलता व्यवस्थापनमा क्लिनिकल फार्मासिस्टहरूको महत्त्वपूर्ण भूमिका स्थापित गरेका छन्। उनको नेतृत्वमा बहुविषयक टोलीले बिरामीहरूको हेरचाहलाई प्रभावकारी बनाएको छ। क्यान्सरका बिरामीहरूको शारीरिक र मानसिक पीडालाई कम गर्न प्रमाण-आधारित रणनीतिबाट बिरामीको जीवनस्तरमा सुधार ल्याउन सहयोग पुर्याएको छ।
केमोथेरापी जस्ता जटिल उपचार प्रक्रियामा सही औषधि र डोज निर्धारणको महत्त्वपूर्ण भूमिका सुनिश्चित गर्दै, बिरामीको औषधि प्रयोगमा सुधार ल्याइएको छ। साथै, औषधिको सम्भावित दुष्प्रभाव न्यून गर्न रणनीतिक परामर्श र व्यवस्थापन विधिहरू लागू गरिएका छन्।
बिरामी र तिनका परिवारलाई औषधि प्रयोगबारे सुसूचित गराएर आत्मविश्वास बढाउनु उनको थप एक महत्वपूर्ण योगदान हो।
डा श्रेष्ठको अनुसन्धानले क्यान्सर बिरामीहरूको जीवनस्तर सुधार्न महत्त्वपूर्ण भूमिका खेलेको छ। यस परियोजनाले बिरामीहरूको शारीरिक पीडामा उल्लेखनीय कमी ल्याएको छ। मानसिक स्वास्थ्यमा पनि सुधार गर्दै डिप्रेसन र आत्तिने समस्या घटाएको छ।