काठमाडौं- काठमाडौंको शान्तिनगरमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भएको छ। नेपाल अर्थोपेडिक अस्पतालका निर्देशक डा कैलाश भण्डारीको संयोजन र फ्रन्टलाइन अस्पताल तथा दावाली मिलन क्लबको संयुक्त आयोजनामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भएको हो।
काठमाडौंको शान्तिनगरमा रहेको सिद्धेश्वर माध्यामिक विद्यालयमा शनिबार भएको निःशुल्क स्वास्थ्य शिविरमा २५० बढी स्थानीयले सेवा लिएका छन्। शिविर वडा नं ३१ को सहकायर्मा सम्पन्न भएको हो।
शिविरमा अर्थोपेडिक अस्पताल जोरपाटी, फ्रन्टलाइन अस्पताल र सिभिल अस्पताल मीनभवनका विशेषज्ञ चिकित्सकहरुले सेवा दिएको संयोजक डा भण्डारीले जानकारी दिए।
शिविरमा अस्पतालले जनरल मेडिसिन, जनरल सर्जरी, पेट तथा कलेजो रोग, हाड जोर्नी तथा नशा रोग, नाक, कान घाँटी रोग, प्रसूति रोग, छाला रोग, क्यान्सर रोग, आँखा रोग, मुटु रोग, मुख तथा दाँत रोग, बाल रोगको सेवाहरू उपलब्ध गराइएको संयोजक डा भण्डारीले बताए।
डा भण्डारीले नयाँ वर्षमा नयाँ काम गरौँ र समाजलाई सहयोग गरौँ भन्ने भावनासहित शिविर सञ्चालन गरिएको बताए। उनले सुकुम्बासी र निम्न वर्गका नागरिकका लागि समाजप्रतिको उत्तरदायित्व निर्वाह गर्न शिविर सञ्चालन गरेको जानकारी दिए। उनले महिनामा दुईपटक शिविर सञ्चालन गर्ने जानकारी पनि दिए।