धादिङ- धादिङ जिल्लाको गजुरी गाउँपालिका वडा नम्बर २ छेवाङको डुडेठाटी आधारभुत स्वास्थ्य केन्द्रमा बृहत स्वास्थ्य शिविर सम्पन्न भएको छ। गजुरी गाउँपालिका, २ नम्बर वडा कार्यालयको आयोजना तथा मनमोहन मेमोरियल मेडिकल कलेज अस्पताल, कीर्तिगङ्गा मेडिकल सेन्टर र धादिङ अस्पतालको प्राविधिक सहयोगमा संचालित शिविरमा ३०० जना भन्दा बढी स्थानीय जनसमुदायले सेवा लिएका छन्।
'सबैका लागि स्वास्थ्य' भन्ने मुल नारा सहित आयोजित शिविरमा स्त्री रोग, बाल रोग नाक कान घाँटी,हाडजोर्नी, दन्त सेवा, पाठेघर रोग सम्बन्धि स्क्रीनिङ, भिडियो एक्सरे सेवा, सामान्य चिकित्सा सेवा प्रदान गरिएको थियो। लायन्स क्लब अफ धादिङ भैरवी, बगाले थापा क्षेत्री राष्ट्रिय फाउन्डेसन, नेपाल, शितल छहारी नेपाल, प्रयास नेपाल धादिङ, क्वेस्ट फार्मा कम्पनी तथा नेपाल सरकार , स्वास्थ्य तथा जनसंख्या मन्त्रालय,स्वास्थ्य सेवा विभाग, व्यवस्थापन महशाखाको प्राविधिक सहयोग रहेको थियो।
शिविरमा शिक्षाको महत्त्वलाई प्राथमिकता दिई बालबालिकाहरुलाई कापी र कलम पनि वितरण गरिएको छ। साथै स्थानीय छेपाङ माध्यमिक विद्यालायलाई खेलकुद सामाग्री हस्तान्तरण गरिएको थियो।
शिविरमा दुई घन्टा टाढा देखि सेवा लिन बिरामीहरु आईपुगेका थिए। छिमेकी बेनिघाट रोराङ गाउँपालिका र मकवानपुर जिल्लाको राक्सिराङ गाउँपालिकाका केही बिरामीहरु शिविर बस्ने खबरले उत्साही हुँदै आफ्नो स्वास्थ्य समस्या लिएर छेपाङ आईपुगेका थिए। विपन्न चेपाङ, दलित,तामाङ र अन्य जाति समुदायको बसोबास रहेको सो क्षेत्रमा केही जटिल प्रकृतिका केसहरुलाई काठमाडौं रिफर गरिएको छ।
गजुरी गाउँपालिकाका अध्यक्ष गणेशलाल श्रेष्ठ, उपाध्यक्ष शर्मिला विसुरालको आतिथ्यमा आयोजित समुदघाटन समारोहमा वडाध्यक्ष द्रोण कडेलले छेपाङबासीलाई सेवा गर्न आएका टोलीलाई सम्मान पत्र सहित मायाको चिनो हस्तान्तरण गरेका थिए।
१४ जना डाक्टर र नर्स सहितको मेडिकल टिमबाट संचालित सो शिविर आगामी दिनमा गजुरी गाउँपालिकाकै ४ नम्बर वडा लगायत अन्य दुर्गम भेगमा पनि संचालन गर्न पालिकाले सहजीकरण गरिने अध्यक्ष गणेशलाल श्रेष्ठले बताए।
विपन्न र सीमान्तकृत समुदायलाई स्वास्थ्यको मुलधारमा ल्याउने र धादिङ जिल्लालाई स्वास्थ्य क्षेत्रमा सबल र सुदृढ बनाउने अभियानलाई निरन्तरता दिदै धादिङ जिल्लाका अन्य विकट क्षेत्रहरुमा पनि शिविर आयोजना गरिने स्वास्थ्य शिविर संयोजक तथा नेपाल सरकार, स्वास्थ्य बीमा बोर्डमा कार्यरत धादिङ निवासी डा राम थापा क्षेत्रीले बताए।