सुर्खेत- कर्णाली प्रदेशको सुर्खेतमा निजी लगानीमा सञ्चालित अस्पताल 'सुर्खेत अस्पताल'ले प्रसूति तथा स्त्रीरोग विभागको सेवा विस्तार गरेको छ। अस्पतालले हालै दुई जना महिलाको पाठेघर निकाल्ने शल्यक्रिया (हिस्टेरेक्टोमी) सफलतापूर्वक सम्पन्न गरेको छ।
स्त्रीरोग विशेषज्ञ डा धर्मराज रेग्मीको टोलीले दुई जना महिलाको पाठेघर निकाल्ने अप्रेसन सफलतापुर्वक सम्पन्न गरेका हुन्।
अप्रेसन गरिएको मध्ये एक जना महिला अस्पतालबाट डिस्चार्ज भइसकेको र एक जना डिस्चार्ज हुने क्रममा रहेको डा रेग्मीले जानकारी दिए।
पाठेघरको मुखमा घाउ भएको तथा पाठेघरमा टयुमर पलाएको कारण दुबै जनाको पाठेघर निकालिएको डा रेग्मीले बताए।
डा रेग्मी कर्णाली प्रादेशिक अस्पतालमा कार्यरत छन्। उनले कार्यालय समय बाहिर सुर्खेत अस्पतालमा सेवा दिँदै आएका छन्।
डा रेग्मीले कार्यालय समय बाहेक बिहान ७ देखि ९.५० सम्म र साँझ ४-८ बजेसम्म अस्पतालबाट सेवा दिइरहेको अस्पताल व्यवस्थापक भक्तबहादुर शाहीले बताए।
अस्पताल ५० शय्या क्षमताको हो।