काठमाडौं- नेपाल चिकित्सक संघ र यति एयरलाइन्स लिमिटेडबीच सम्झौता भएको छ। चिकित्सकहरूको हवाई यात्रालाई थप सहज र लाभदायक बनाउने उद्देश्यले दुई संस्थाबीच समझदारीपत्रमा हस्ताक्षर भएको हो।
समझदारीपत्रमा संघका तर्फबाट डा अनिलविक्रम कार्की र एयरलाइन्सका तर्फबाट विमल लामाले हस्ताक्षर गरेका छन्।
सम्झौता अनुसार चिकित्सक संघका सदस्यालाई यति एयरलाइन्सले विशेष छुट दिनेदेखि बढी माइलेज र तौल लैजान सक्ने सुविधाहरु रहेको संघका महासचिव डा सञ्जिब तिवारीले जानकारी दिए।
सम्झौतामा यति एयरलाइन्सको मोबाइल एप र वेबसाइटमार्फत टिकटिङ सेवाहरू उपलब्ध गराई उनीहरूको यात्रा अनुभवलाई सहज बनाउने उद्देश्य राखेको छ। साथै, स्काई क्लब सदस्यताको सुविधा चिकित्सक संघका सदस्यहरूलाई प्रदान गर्ने र उनीहरूको यात्रा अनुभवलाई थप विशेष बनाउनका लागि यो सम्झौता गरिएको हो।
सम्झौता अनुसार यति एयरलाइन्सले संघका सदस्यहरूको लागि हरेक गन्तव्यमा उपलब्ध सबै प्रकारका भाडामा विशेष छुटको व्यवस्था गर्ने, यति एयरलाइन्स मोबाइल संघका सदस्यहरूको छुट्टै प्रोफाइल बनाइ अन्य प्रयोगकर्ताहरूको तुलनामा विशेष अफरहरूको व्यवस्था गर्ने, लगातार उडान कार्यक्रम अन्तर्गत नेपाल मेडिकल एशोसिएसनका सदस्यहरूलाई सिधै डायमण्ड सदस्यता प्रदान गरिने, जसमा सामान्य प्रयोगकर्ताको तुलनामा बढी माइलेज पोइन्ट र थप १० केजी लगेज सुविधा रहनेछ।
यसका साथै पहिले नै लगातार उडान कार्यक्रममा आबद्ध सदस्यहरूको पनि डायमण्ड सदस्यतामा स्तरोन्नति गरिने सम्झौतामा उल्लेख छ। उक्त सम्झौता डिसेम्बर २०२४ देखि डिसेम्बर २०२५ सम्मको लागि र त्यसपछि भने दुवै पक्षको आपसी सहमतिमा नवीकरण प्रक्रिया अगाडि बढ्ने छ।
यति एयरलाइन्सको प्रवर्द्धनका लागि संघले विभिन्न कार्यक्रम र गतिविधिहरूमा सक्रिय सहयोग गर्ने सम्झौतामा उल्लेख छ।
संघले सदस्यहलाई उपलब्ध टिकटिङ सुविधाहरूबारे जानकारी दिने र सदस्यहरूले छुट पाउनका लागि टिकटिङ यति एयरलाइन्सको मोबाइल एप वा वेबसाइटमार्फत गर्नुपर्ने सुनिश्चित गर्ने विषय पनि सम्झौतामा उल्लेख छ।