बाजुरा- जनस्वास्थ्य निरीक्षक धर्मराज खत्रीको सडक दुर्घटना मृत्यु भएपछि बडिमालिका नगरपालिकाले एक दिन शोकबिदा दिएको छ। पुस १६ गते एक दिनका लागि शोकविदा दिएको हो।
बाजुराको बडिमालिका नगरपालिका-७ स्थित चुथी स्वास्थ्य चौकीमा कार्यरत खत्रीको केही दिनअघि धनगढीमा मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएको थियो।
उनी त्यहाँ आयोजना भएको तालिममा सहभागी हुने क्रममा दुर्घटनामा परेका हुन्। प्रहरीका अनुसार बिहीबार साँझ साढे ६ बजे धनगढी उपमहानगरपालिका-३ को लक्ष्मी नर्सरीनजिकै अतरियाबाट धनगढी आउँदै गरेका दुईवटा मोटरसाइल आपसमा ठोक्किएका थिए।
डोटीको शिखर नगरपालिका-११ बस्ने २५ वर्षीया शर्मिला थापाले चलाएको सुप्रप ०१००७११प नम्बरको मोटरसाइलले पछाडिबाट ठक्कर दिएको थियो। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार धनगढी-५ का २५ वर्षीय पुरन शाहले चलाएको सुपप्र ०१२प ९४१६ नम्बरको मोटरसाइलमा खत्री पछाडि सवार थिए। खत्रीको टाउकोमा चोट लागेर गम्भीर घाइते भएका थिए। उनको सेती प्रादेशिक अस्पतालमा उपचार क्रममा बिहिवार साँझ मृत्यु भएको हो।