काठमाडौं- मधेश प्रदेश सरकारले अध्यादेश ल्याएर आफूमाथि अन्याय गर्न लागिएको भन्दै मधेशसका हेल्थ असिस्टेन्टहरु आन्दोलित भएका छन्। स्वास्थ्यमा हाल रहेको ऐनका प्रावधानलाई लिएर आफूहरुले खुसी व्यक्त गरिरहँदा पैसाको चलखेलमा अध्यादेश ल्याउन लागेको आरोप स्वास्थ्यकर्मीले लगाएका छन्।
मधेश प्रदेश सरकारले बनाएको स्थानीय सेवाको गठन, सञ्चालन र सेवाका सर्तहरू सम्बन्धमा व्यवस्था गर्न बनाएको ऐन-२०८१ भदौ ७ गते प्रदेश प्रमुखले प्रमाणीकरण गरेका थिए । उक्त ऐनमा भएका केही प्रावधान संशोधन गर्न मुख्यमन्त्री सतीशकुमार सिंहले अध्यादेश ल्याउने तयारी गरेका छन।
भांगा नगरपालिका अन्तर्गत भांगा स्वास्थ्य चौकीमा कार्यरत जनस्वास्थ्य निरीक्षक अभिषेक यादवले उक्त विरोधमा मुख्यमन्त्री सहित हरेक मन्त्रालयमा ध्यानाकर्षण पत्र बुझाएको बताए।
‘स्वास्थ्य ऐन अनुसार हेल्थ असिस्टेन्टहरु ५ पाँचौं स्तरबाट सेवा प्रवेश गरी सातौंसम्म अर्थात् दुई तह मात्रै बढुवा हुने गर्छन्,’ उनले ेभने ‘तर चौथो स्तरबाट सेवा प्रवेश गरेका अहेबहरु सातौं तहसम्म बढुवा हुनका लागि पहल गर्न तथा अध्यादेशको षड्यन्त्र गर्न लागेका छन्,त्यसको विरोधमा हामी उत्रिएका हौं।'
अध्यादेश ल्याउनका लागि चलखेल भइरहेको थाहा पाएपछि त्यसको विरोधमा उत्रिएको उनी बताउँछन् । ‘आज मुख्यमन्त्री कार्यालयमा गएर विरोध प्रदर्शन गरेका थियौं,' उनले भने.
अध्यादेश आएको अवस्थामा आफू भन्दा तल्लोस्तरका काम गरिरहेका कर्मचारी माथिल्लो स्तरमा पुग्ने तर आफू तल्लो स्तरमै रहने अवस्था आउने उनी बताउँछन्।
'हामी दुई तहमात्रै बढुवा हुँदा अहेबहरु तीन तहसम्म बढुवा हुन पाउने नियम अध्यादेशबाट ल्याउन खोजिएको छ’, उनले भने, ‘त्यो विभेदपूर्ण छ ,हामीले त्यसको विरोध गरी आन्दोलन गरेका हौं।’
यसरी अहेबहरु तीन तहसम्म बढुवा हुँदा माथिल्लो तहका हेल्थ असिस्टेन्टहरुले उनीहरुको निर्देशनअनुसार काम गर्नुपर्ने भएका कारण अध्यादेश ल्याउनु नहुने माग जायज रहेको उनको तर्क छ।
अध्यादेश आएमा स्वास्थ्य संरचना नै बिग्रने स्थिति आउन सक्ने उनको भनाइ छ । मागको सुनुवाई नभएमा अझै कडा तथा सशक्त आन्दोलनका कार्यक्रम ल्याइने उनले बताए।