काठमाडौं- एमपक्स पुष्टि भएर शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचाररत दुई युवामध्ये एक जना अस्पतालबाट डिस्चार्ज भइसकेका छन् भने अर्का एक जनाको अवस्था सुधार हुँदै गइरहेको छ।
अस्पतालका निर्देशक डा युवानिधी बसौलाका अनुसार पहिलो पटक संक्रमण देखिएर भर्ना भएका ३६ वर्षीय पुरुष हिजो मंगलबार डिस्चार्ज भएका हुन्। उनका अनुसार दोस्रो बिरामी भने उपचारकै क्रममा छन्।
'पहिलो बिरामी सञ्चो भएर डिस्चार्ज भइसकेको अवस्था छ भने दोस्रो बिरामीको अवस्था पनि सामान्य नै रहेको छ। उनलाई पनि केही दिनपछि डिस्चार्ज गर्नेछौं,' डा बसौलाले भने।
एमपक्सका कारण आँखा, दिमाग तथा शरीरका अन्य अंगमा जोखिमको खतरा नभएको उनले जानकारी दिए।
गत पुस ५ गते साउदीबाट नेपाल आएका ३६ वर्षीय नेपाली पुरुषलाई पहिलो पटक एमपक्स संक्रमण पुष्टि भएको भएको थियो। गत १ असारमा एकजना विदेशी महिलालाई मंकीपक्स पुष्टि भएपनि नेपालीमा भएको यो पहिलोपटक हो। ग्रान्डी अस्पतालमा उपचारका लागि पुगेका उनलाई टेकु अस्पताल रिफर गरिएको थियो।
अस्पतालले स्याम्पल लिएर परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पठाएको थियो। त्यहाँबाट आएको रिपोर्टमा ती युवकमा मंकीपक्सको संक्रमण भएको पुष्टि भएको थियो।
दोस्रो संक्रमण देखिएका पुरुष पनि साउदीबाट नै आएका थिए। शुक्रराजमा उपचाररत ४४ वर्षीय ती पुरुषको स्वास्थ्य अवस्था सुधार हुँदै गएको डा बसौलाले जानकारी दिए।