काठमाडौं- तराइ क्षेत्रमा शितलहर बढेपछि विद्यालय बन्द गरिन थालेका छन्। एक सातादेखि निरन्तररुपमा शीतलहर चलेपछि कञ्चनपुरका स्थानीय तहले विद्यालयमा बिदा दिएका छन्।
शीतलहरका कारण अत्यधिक चिसो बढेपछि शुक्लाफाँटा नगरपालिका, पुनर्वास नगरपालिका र कृष्णपुर नगरपालिकाले विद्यालयमा बिदा दिएका हुन् । चिसोले विद्यालयको पठनपाठन प्रभावित हुनुका साथै विद्यार्थीको स्वास्थ्य अवस्थामा प्रतिकूल असर पर्न थालेपछि विद्यालयमा बिदा दिइएको शुक्लाफाँटा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमराज विष्टले बताएका छन्।
उनका अनुसार नगर क्षेत्रका सामुदायिक र संस्थागत विद्यालयमा यही पुस २५ गतेदेखि पुस २८ गतेसम्मका लागि बिदा दिइएको छ । कृष्णपुर नगरपालिकाले जाडो बिदाबाट मिलान हुने गरी विद्यालयमा पुस २३ गतेदेखि २८ गतेसम्म बिदा दिएको जनाएको छ।
यसैगरी रुपन्देहीको तिलोत्तमा र पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाले विद्यालयमा जाडो बिदा दिएका छन् । तिलोत्तमा नगरपालिकाले पुस २४ देखि २९ गतेसम्म नगरभित्रका सामुदायिक र निजी विद्यालय बन्द गर्न सूचना जारी गरेको छ।
शीतलहरका कारण चिसो बढेकाले बालबालिकाको स्वास्थ्यमा प्रतिकूल असर पर्ने भएकाले बिदा दिइएको बताइएको छ।