जनकपुर- मधेश प्रदेश स्वास्थ्य विज्ञान प्रतिष्ठानले पहिलो ब्याचका एमबीबीएसका विद्यार्थीलाई स्वागत गरेको छ। प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहको प्रमुख आतिथ्यमा विद्यार्थीहरुलाई स्वागत गरेको हो।
प्रतिष्ठानका उपकुलपति डा अंकुर शाहले प्रतिष्ठानमा एमबीबीएस कार्यक्रम सुरु हुनु ठूलो उपलब्धि भएकाले पहिलो ब्याचका विद्यार्थीहरुलाई स्वागत गर्ने कार्यक्रममा मुख्यमन्त्रीसहित प्रदेश स्वास्थ्य मन्त्री शत्रुधन प्रसाद सिंह र शिक्षा मन्त्री रानीकुमारी तिवारीलाई विशेष अतिथिका रुपमा बोलाइएको जानकारी दिए।
स्वागत कार्यक्रममा मुख्यमन्त्री सिंहले विद्यार्थीहरुलाई स्वागत गर्दै उज्वल भविष्यको शुभकामना दिए। उनले प्रतिष्ठानको विकास र विस्तारका लागि प्रदेश सरकारले सहयोग गर्ने प्रतिवद्धता पनि व्यक्त गरे।
प्रतिष्ठानका उपकुलपति डा शाहले प्रतिष्ठानमा एमबीबीएस कार्यक्रमको सुरुवातसँगै अन्य विषयका कार्यक्रमका लागि पनि गृहकार्य भइरहेको जानकारी दिए। उनले प्रतिष्ठानमा शैक्षिक कार्यक्रमसहित अनुसन्धान र चिकित्सकिय सेवाका कामहरु पनि थप विस्तार हुने जानकारी दिए।
प्रतिष्ठानमा पहिलो ब्याचका लागि चिकित्सा शिक्षा आयोगले ५० वटा सिट निर्धारण गरेको थियो।