काठमाडौँ- फार्मेसीहरुमा कानुनविपरीत आमाको दुधलाई प्रतिस्थापन गर्ने वस्तु बिक्री भइरहेको पाइएको छ। जनस्वास्थ्य कार्यालय काठमाडौंले हालै गरेको अनुगमनका क्रममा उक्त अवस्था भेटिएको बताइएको छ।
जनस्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख डा. वसन्त अधिकारीले नयाँ बानेश्वरको किड्स पसल, टेकुस्थित प्रकाश फार्मेसी तथा प्रकाश एलाइट्सलगायतका पसलमा अनुगमन गर्दा कानुनविपरीत यस्ता वस्तुको डिस्प्ले गरेको पाइएको बताएका छन्।
यसैगरी कतिपयले अनलाइनमार्फत छुट दिएर सामान बिक्री गर्ने गरेको पाइएको उनको भनाइ छ। उनले यस्ता वस्तुको प्याकेटमा 'बच्चाका लागि स्तनपान सबैभन्दा असल दुध हो' भन्ने बेहोराको सन्देश अनिवार्य राख्नुपर्ने तर त्यो सन्देश नराखिएको समेत पाइएको उल्लेख गरे।
पहिलोपटक त्यस्ता पसललाई कानुनी पक्षबारे सचेत गराएर यस्ता वस्तु बिक्री नगर्न निर्देशन दिइएको उनको भनाइ छ।