काठमाडौं- सरकारी अध्ययन टोलीले गरेको एक सर्वेक्षणमा सम्मिलित सबै डाक्टरले विदेश जाने सोच बनाएको पाइएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख विशेषज्ञ डा टंकप्रसाद बाह्रकोटी संयोजकत्वको समितिको अध्ययनले उक्त नतिजा प्रस्तुत गरेको हो।
हालै मन्त्रालयलाई बुझाइएको प्रतिवेदनमा भूमिकामा विदेशिने चिकित्सक बढेको उल्लेख छ। उक्त प्रतिवेदनमा भनिएको छ, 'हामीले महाराजगन्ज मेडिकल क्याम्पसका २०२२ मा एमबिबिएस उत्तीर्ण गरेका मध्य ४३ विद्यार्थीसँग गरेको सर्वेक्षणमा १०० प्रतिशत विद्यार्थीले विदेश जाने सोच बनाएको उत्तर दिएका थिए।'
४३ मध्य ४१ (९५ प्रतिशत)ले विदेशी परीक्षाका लागि दर्ता गरिसकेका थिए। ४१ मध्ये ५ जना सबै परीक्षा उत्रिर्ण गरी म्याचिङको प्रकियामा भएको र ३१ जनाले परीक्षा दिँदै गरेको उत्तर दिएको प्रतिवेदनमा उल्लेख छ।
नेपाल मेडिकल काउन्सिलमा २०२३ को अन्त्यसम्म ३४ हजार ९१० चिकित्सक दर्ता भएका छन जस मध्ये १० हजार। ५८८ विशेषज्ञ चिकित्सक छन् । काउन्सिलको ४ वर्षको तथ्याङ्क अनुसार नेपालमा बर्सेनी करिब २००० देखि ५०० नयाँ चिकित्सक काउन्सिलमा दर्ता हुने गरेका छन्। तर विगत केही वर्षदेखि चिकित्सकहरू ठूलो सङ्ख्यामा विदेश पलायन भइरहेको बताइएको छ।
नेपाल मेडिकल काउन्सिलको २०२३ को वार्षिक प्रतिवेदन अनुसार सन् २०२३ मा २६९२ नयाँ चिकित्सक दर्ता भएका थिए । सोही अवधिमा काउन्सिलबाट विदेशमा अध्ययन र काम गर्न २३१८ जना चिकित्सकले असल चारित्रिक प्रमाणपत्र लिएका थिए।
यसरी विदेश जाने सङ्ख्या बर्सेनी बढिरहेको छ । सन् २०२० मा ८६९ चिकित्सकले विदेश जानका लागि असल चारित्रिक प्रमाणपत्र लिएकामा २०२१ मा १३२७ र सन् २०२२ मा १९५४ र सन् २०२३ मा २३१८ जनाले सो प्रमाणपत्र लिएका छन् । यसरी ४ वर्षको अवधिमा विदेश जाने प्रक्रियामा लाग्ने चिकित्सकको सङ्ख्या २.६७ गुणाले बढेको प्रतिवेदनमा उल्लेख छ।
सोही क्याम्पसमा स्नातकोत्तरमा अध्ययन गरिरहेका अधिकांश विद्यार्थीले नेपालमा बसेर काम गर्ने अवस्था नरहेको र अध्ययनपछि विदेश जाने सोच बनाएको पाइएको उल्लेख छ।
'नेपालमा चिकित्सक किन काम गर्न चाहँदैनन् भनेर चिकित्सकहरू माझ सर्वेक्षण गर्दा हामीले मुख्यतः निम्न कारणहरु पायौं,' प्रतिवेदनमा भनिएको छ, 'न्यून तलब र सुविधा, अर्थपूर्ण र सम्मानित काम, अध्ययन-अनुसन्धान र वृत्ति विकासको अभाव, स्वास्थ्य संस्थामा घटिरहने हिंसाका घटना, परिष्कृत स्वास्थ्य संस्थाको अभाव रहेका छन्।'