काठमाडौं - स्वास्थ्य बिमा बोर्ड लामो समय नेतृत्वबिहिन छ। आगामी नेतृत्वको लागि अध्यक्ष र कार्यकारी निर्देशकको मापदण्ड हेरफेर गर्न लागिएको बुझिएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रबक्ता डा प्रकाश बुढाथोकीले मापदण्ड हेरफेर गर्ने तयारी भइरहेको बताएका छन्। अध्यक्ष तथा कार्यकारी निर्देशक नियुक्ति ढिलाइको विषयमा गरिएको प्रश्नमा उनले उक्त संकेत गरेका हुन्।
'मापदण्ड समय सुहाउँदो तथा फराकिलो बनाउने गरी स्वास्थ्य बीमा ऐन संशोधनको कार्य भइरहेको छ,' उनले भने। अध्यादेश मार्फत् अध्यक्ष तथा निर्देशकको मापदण्ड संशोधन गर्ने तयारी छ। अब चाँडै नै प्रक्रिया अगाडि बढ्नेछ।
उनका अनुसार संसोधनका लागि ड्राफ्ट सम्बन्धित निकायमा पुगिसकेको छ। त्यो स्वीकृत भएर आएपछि प्रक्रिया अघि बढ्नेछ। 'निर्देशक नियुक्ति लोकसेवा खुलाएर स्वास्थ्य मन्त्रालयले गर्ने प्रावधान छ । अझै एक-डेढ महिना लाग्न सक्ला', उनले भने।
बोर्डको कार्यकारी निर्देशकका लागि आवेदन दिएका मध्येबाट सर्टलिष्टमा पर्नेमध्ये एक जनालाई मन्त्रिपरिषदको बैठकले कार्यकारी निर्देशकमा नियुक्ति गर्ने व्यवस्था छ। अध्यक्ष नियुक्ति मन्त्रीपरिषद्ले नै गर्छ।
लामो समयदेखि बोर्ड निर्देशक तथा अध्यक्षबिहीन हुँदा निमित निर्देशकको भरमा चलिरहेको छ। बिमा बोर्ड करिब ४ महिनादेखि अध्यक्षबिहीन छ भने करिब दुई महिनादेखि कार्यकारी निर्देशक बिहिन भएको छ।
स्वास्थ्य बीमा बोर्डका अध्यक्ष डा गुणराज लोहनीले गत भदौमा स्वास्थ्यको कारण देखाउँदै राजीनामा दिएका थिए। कार्यकारी निर्देशक डा दामोदर बसौलाको चार वर्षे कार्यकाल कात्तिकमा पूरा भएको थियो।
हाल स्वास्थ्य मन्त्रालयले गुणस्तर मापन तथा नियमन महाशाखाका प्रमुख डा सरोज शर्मालाई आर्थिक र प्रशासनिक अधिकारसहित निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी दिएको छ। उक्त महाशाखा मन्त्रालयको व्यस्त महाशाखामध्येमा पर्छ।