जेनेभा – विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले संयुक्त राज्य अमेरिकाले संगठनबाट बाहिरिने निर्णय लिएको घोषणा प्रति गहिरो दुःख व्यक्त गरेको छ। संगठनले मंगलबार सार्वजनिक सूचना निकाल्दै अमेरिकालाई सहकार्यको निरन्तरता चाहेको जानकारी पनि दिएको छ।
डब्लुएचओले विश्वभरका नागरिकहरुको स्वास्थ्य सुरक्षा सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेल्दै आएको संगठन र संयुक्त राज्य अमेरिका सन् १९४८ देखि सहकार्यमा रहेको जानकारी दिँदै उक्त सहकार्य निरन्तर जारी राख्न चाहेको बताएको छ।
‘संगठनले विश्वभरका नागरिकहरूको स्वास्थ्य सुरक्षा सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेल्दै आएको छ, जसमा अमेरिकन नागरिकहरू पनि पर्दछन्। संगठनले रोग नियन्त्रण, बलियो स्वास्थ्य प्रणाली निर्माण, तथा स्वास्थ्य संकटहरूको पहिचान, रोकथाम र व्यवस्थापनमा योगदान दिँदै आएको छ,’ संगठनद्वारा जारी सूचनामा भनिएको छ, ‘संयुक्त राज्य अमेरिका सन् १९४८ मा विश्व स्वास्थ्य संगठनको स्थापना सदस्य थियो र त्यसयता १९३ अन्य सदस्य राष्ट्रहरूसँग मिलेर संगठनको नीतिनिर्माण र सञ्चालनमा सक्रिय रूपमा संलग्न रहँदै आएको थियो। हामी संयुक्त राज्य अमेरिकासँगको सहकार्यलाई निरन्तर कायम राख्न चाहन्छौं।‘
डब्लुएचओले अमेरिकासँगको सहकार्यबाट स्मलपक्स उन्मूलन, पोलियो नियन्त्रण तथा अन्य धेरै महामारीविरुद्ध सफल प्रयासहरू गरेको बताएको छ।
विश्व स्वास्थ्य संगठनका प्रवक्ताले भने, ‘अमेरिका संगठनको एक महत्त्वपूर्ण साझेदार हो। सात दशकभन्दा बढी समयदेखि, विश्व स्वास्थ्य संगठन र अमेरिकी संस्थाहरूले अनगिन्ती जीवनहरू बचाएका छन्। हामी आशा गर्छौं कि अमेरिकाले पुनः विचार गर्नेछ।‘
विश्व स्वास्थ्य संगठनका अनुसार, पछिल्लो सात वर्षमा संगठनले इतिहासकै सबैभन्दा ठूलो सुधार कार्यक्रम लागू गरेको छ। जसले जवाफदेहिता, लागत-प्रभावकारिता र विश्वव्यापी स्वास्थ्य सेवाहरूमा सुधार ल्याएको छ।
अमेरिकाले संगठनबाट बाहिरिने घोषणा गरेपछि विश्व स्वास्थ्य संगठनले अमेरिकी सरकारसँग रचनात्मक संवाद गर्ने आशा पनि व्यक्त गरेको छ। संगठनले भनेको छ, ‘हामी संयुक्त राज्य अमेरिकासँगको सहकार्यलाई निरन्तर कायम राख्न चाहन्छौं, किनभने यसले संसारभरका लाखौँ मानिसहरूको स्वास्थ्य सुरक्षामा महत्त्वपूर्ण प्रभाव पार्नेछ।‘