पाल्पा- सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन गर्न पूर्वखोला गाउँपालिकाले आफ्नो छुट्टै ऐन बनाएको छ ।
सुर्तीजन्य पदार्थ मानव स्वास्थ्यका लागि अत्यन्त हानिकारक भएको भन्दै यसको प्रयोगलाई नियन्त्रण गर्न गाउँपालिकाले सुर्तीजन्य पदार्थ (नियन्त्रण तथा नियमन) सम्वन्धी ऐन- २०८१ जारी गरेको हो ।
स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ११ को उपदफा ४(ख) १३ ले प्रदान गरेको अधिकार बमोजिम सोही ऐनको दफा १०२ ले दिएको अधिकार प्रयोग गरी गाँउपालिका गाउँसभाले यो ऐन बनाएको हो ।ऐनको प्रस्तावनामा उल्लेख छ ।
गाउँसभाबाट गत २६ पुसमा पारित भएको यो ऐन पूर्वखोला गाउँपालिकाको स्थानीय राजपत्रमा प्रकाशित भइसकेको छ ।
गाउँपालिका अध्यक्ष नुनबहादुर थापाले सुर्तीजन्य पदार्थ सेवनको कारणले लाग्ने रोगहरुको प्रकोप बढी रहेको अवस्थालाई नियन्त्रण गर्नका लागि ऐन जारी गरेको बताए । उनले भने, ‘हाम्रो गाउँपालिकामा पनि नसर्ने रोगहरु (क्यान्सर, मुटु, मिर्गौला, मधुमेह) को प्रकोप बढ्दो छ र यसको प्रमुख कारक सुर्तीजन्य पदार्थ हो भन्ने प्रमाणित भईसकेको छ । अब यसलाई नियन्त्रण गर्नुको विकल्प छैन, त्यसैले ऐन बनाएर यसको नियन्त्रण तथा नियमन गर्न खोजेका हौं।’
अध्यक्ष थापाले ऐनको सहज कार्यान्वयनका लागि अब निर्देशिका बनाउने तयारीमा समेत रहेको बताए ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुन्दरप्रसाद श्रेष्ठले गाउँपालिका सभाबाट पास भएको ऐन राजपत्रमा प्रकाशित भएपछि कार्यान्वयनको चरणमा आइसकेको भन्दै यसका लागि सबै पक्षबाट साथ सहयोग हुने विश्वास व्यक्त गरे । ‘जनस्वास्थ्यसंग जोडिएको कुरा छ, यसलाई कार्यान्वयन गर्नु सबैको दायित्व हो । आशा छ सबैको साथ हुनेछ,’ उनले भने ।
गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख समेत रहेका सूचना अधिकारी मोहन ढकालले गाउँपालिकामा नसर्ने रोगको प्रकोप बढी रहेको अवस्थामा कानून निर्माण गरी यसलाई सुर्तीजन्य पदार्थको प्रयोगलाई नियन्त्रण गर्न खोजिएको बताए । उनले सुर्तीजन्य पदार्थ नियन्त्रण सम्वन्धी ऐन जारी गर्ने पूर्वखोला पाल्पाकै पहिलो गाउँपालिका रहेको दाबी गरे।