काठमाडौं- नेपाली राष्ट्रिय क्रिकेट टिमका सदस्य सन्दीप लामिछाने डिस्चार्ज भएका छन्। माघ ९ गते शल्यक्रियाका लागि सिल्भर लाइन अस्पतालमा भर्ना भएका लामिछाने स्वास्थ्यमा सुधार भएपछि आज सोमबार डिस्चार्ज भएका हुन्।
अस्पतालका प्रबन्धक डा अभिषेक राज सिंहका अनुसार लामिछानेको राइट डाइरेक्ट इङ्गुइनल हर्नियाको टोटल एक्स्ट्रा पेरिटोनियल (मास रिपेयर) गरिएको थियो।
‘उक्त शल्यक्रियापछि स्वास्थ्यमा सुधार आएपछि आज डिस्चार्ज गरिएको हो,’ उनले भने, ‘उपचारमा संलग्न चिकित्सकहरुको सुझावअनुसार आज अस्पतालबाट डिस्चार्ज गरिएको छ। हामी उहाँको शिघ्र स्वास्थ्यलाभको कामनासहित छिट्टै मैदानमा देख्न पाउने अपेक्षा राख्दछौं।‘
लामिछानेको शल्यक्रिया डा दीपक शर्मा नेतृत्वको टोलीले गरेको हो। क्रिकेटर लामिछानेको उक्त शल्यक्रिया केही समय पहिले नै गर्न चिकित्सकहरुले सुझाव दिएका थिए। तर, व्यस्तताका कारण उनले शल्यक्रियाका लागि समय निकाल्न सकेका थिएनन्।