काठमाडौं- वीर अस्पतालका निर्देशक डा सन्तोष पौडेलको कार्यकाल आगामी फागुन ४ गते सकिँदैछ। उनको कार्याकाल सकिनुअघि नै अस्पतालको निर्देशकका लागि आकांक्षीहरुले राजनीतिक भेटघाट थालेका छन्।
अस्पतालका निर्देशक डा पौडेल आफैं पनि दोहोरिने रुचिसहित शक्तिकेन्द्र धाइरहेका छन्। वीरमा दोहोरिने अवस्था नभए कुनै संस्थामा उपकुलपतिसहित जाने चाहना उनले प्रस्तुत गरेका छन्।
डा पौडेलको टिम गत बुधबार राति पनि प्रधानमन्त्री केपी शर्मा ओलीनिवास बालुवाटारमा पुगेको थियो। तर, बुधबार राति विभिन्न क्षेत्रका अन्य चिकित्सहरु पनि त्यहाँ रहेका कारण विषय प्रवेश गर्न नसकेको स्रोतले बतायो।
अस्पतालको निर्देशकमा डा पौडेललाई नै नदोहोर्याउने अवस्थामा डा दिलिप शर्मालाई सम्भावति अनुहारमा रुपमा हेरिएको छ। यसअघि प्रधानमन्त्री ओलीको क्याबिनेट चिकित्सकका रुपमा समेत काम गरिसकेका कारण उनको सम्भावना प्रबल रहेको चिकित्सकहरु बताउन थालेका छन्। वीर अस्पतालकै कलेजो रोग विभागमा कार्यरत उनले यसअघि नेपाल मेडिकल काउन्सिलको रजिस्ट्रार र चिकित्सा शिक्षा आयोगको निर्देशकका रुपमा समेत काम गरिसकेका छन्।
अस्पतालको निर्देशकका अर्का आकांक्षीमा हाडजोर्नी विशेषज्ञ डा समाज गौतम रहेका छन्। अस्पतालका सहायक निर्देशक समेत रहेका उनले आफ्नो दाबी सम्बन्धित निकायमा प्रस्तुत गरिसकेको बुझिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेल उनका विषयमा सकारात्मक रहेको बताइन्छ।
कांग्रेस नेता पौडेलले नेतृत्व गरिरहेको मन्त्रालय अन्तर्गतको नियुक्तिमा प्रधानमन्त्री ओलीले चासो नदेखाएमा वीर अस्पतालको नेतृत्व डा समाजले पाउने सम्भावना बढी देखिन्छ।
तर अस्पतालको निर्देशक सत्तारुढ दल नेकपा एमालेकै कोटाबाट बनाउनुपर्नेमा उक्त दलनिकट चिकित्सकको जोड छ। चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)मा सत्ता साझेदार दल नेपाली कांग्रेसबाट उपकुलपतिलगायत रहेको, रजिस्ट्रार माओवादी केन्द्रको कोटाबाट नियुक्त गरिएको र निर्देशक एमालेबाट दोहोर्याउँदा 'ब्यालेन्स' हुने ब्रिफिङ प्रधानमन्त्री ओलीलाई गरिएको छ।
एमालेको 'कोटा'मा पर्दा प्रधानमन्त्रीको क्याबिनेट चिकित्सक समेत भइसकेकाले डा शर्मा वा दोहोरिन चाहदा डा पौडेलले प्राप्त गर्ने सम्भावना रहन्छ। कांग्रेसकोटामा पुग्दा डा गौतमले जिम्मेवारी पाउने सम्भावना बढी रहेको मन्त्रालयका कर्मचारीहरुको आंकलन छ।