काठमाडौं- वीर अस्पतालको शल्यक्रिया कक्षमा चिकित्सकमाथि आक्रमण भएको छ। शुक्रबार ड्युटीमा रहेका चिकित्सक र अर्का एक जना कर्मचारीबीच आक्रमण भएको अस्पतालले जनाएको छ।
अस्पतालका निर्देशक डा सन्तोष पौडेलले प्रहरीमा पत्र पठाउँदै दोषीमाथि कारबाहीको माग गरेका छन्। प्रहरीमा पठाएको पत्र अनुसार अस्पतालको अप्रेसन कक्षमा शुक्रबार दिउसो साढे ४ बजे प्रमुख कन्सलटेन्ट ग्याष्ट्रो सर्जन प्राडा शरद पोख्रेल र त्यहाँ खटिएकी सानुमाया मगर लगायतमाथि आक्रमण भएको हो।
सेवामा खटिएका चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारी माथि रामेछापको गोकुलगंगा गाउँपालिका वडा नम्बर ६ घर भएका २१ वर्षीय रामचन्द्र खड्काले आक्रमण गरेको निर्देशक पौडेलले प्रहरीमा बुझाएको पत्रमा उल्लेख छ।
दोषीलाई स्वास्थ्यकर्मी तथा स्वास्थ्यसंस्थाको सुरक्षा सम्बन्धी ऐन २०६६ को दफा ३ (ग) बमोजिमको कसूरमा दफा १५ अनुसार तीन वर्षसम्म कैद र तीन लाखसम्म जरिवानाको सजाय माग गरिएको छ।