काठमाडौं- आगामी मार्च १ (फागुन १७ गते) मा नेपालमा अन्तर्राष्ट्रिय डायबिटिज कन्फरेन्स हुने भएको छ। धन योगा फाउन्डेसन अमेरिकाले डायबिटिज एन्ड इन्डोक्राइनोलोजी सोसाइटीसँगको सहकार्यमा काठमाडौंमा उक्त सम्मेलन गर्न लागेको हो।
दक्षिण एशियामा बढ्दो मधुमेहको समस्यालाई मध्येनजर गर्दै नेपालमा उक्त सम्मेलन गर्न लागिएको नेपाल एनसीडी अलायन्सका डा प्रज्वल प्याकुरेलले जानकारी दिए। सम्मेनलमा विश्वमा मधुमेहको उपचार र रोकथामका लागि भइरहेका प्रयास, अनुसन्धान र त्यसका निष्कर्षका साथै प्रविधि र प्रयोगका विषयमा समेत छलफल हुने आयोजक संस्थाले पत्रकार सम्मेलनमार्फत् जानकारी दिएको छ। सम्मेलनमा हुने उच्चस्तरीय छलफल र त्यसबाट निस्किएका निष्कर्ष मधुमेहको रोकथाम र उपचारका लागि सरकारले बनाउने नीतिका लागि सहयोगी हुने विश्वास आयोजकको छ।
विश्वका प्रतिष्ठित प्राध्यापक तथा चिकित्सकहरुले सम्मेलनमा भाग लिनेछन्। तीमध्ये केही नेपाल आउने तय भइसकेको छ। भारतको भेलोरस्थित क्रिस्चियन मेडिकल कलेजको इन्डोक्राइनोलोजी विभाग (युनिट १) प्रमुख डा नितिन कपुर, बेइस्टेट मेडिकल सेन्टरमा कार्यरत डा राजु पन्त, अमेरिकाबाटै डा अजय चौधरी, प्राडा मेरेडिथ हकिन्स, डा राल्फ डेफरेन्जो, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा रोबिन मास्के, भारतका डा निहाल थोमस, विश्वा स्वास्थ्य संगठनबाट डा ग्याम्पो दोर्जी, नेपाल एनसीडी अलायन्सका डा प्रज्वल प्याकुरेल र नेपाल विकास समाजका डा श्वेता कोइराला सहभागी हुन पक्का भइसकेको छ।
विभिन्न देशका विज्ञहरुले आफ्नो पेपर तथा रजिस्ट्रेन गरिरहेको आयोजकले जनाएको छ। सम्मेलनमा स्वास्थ्य था जनसंख्या मन्त्रालय, युनिभर्सिटी अफ म्यास्सचुसेट्स, डायबिटिज एन्ड इन्डोक्राइनोलोजी एशोसिएसन नेपालद र नेपालद हेल्थ क्रप्सले सहकार्य गर्नेछन्।
मुख्य आयोजक संस्था धन योगा फाउन्डेसन अमेरिकाकोमा दर्ता भएको संस्था हो। यसले सीमान्तकृत समुदायको आँखा स्वास्थ्य, मधुमेह हेरचाह तथा शिक्षामा काम गरिरहेको छ। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मधुमेह अनुसन्धानमा काम गरिरहेको संस्थाले सबै प्रदेशमा मधुमेह अनुसन्धान केन्द्र स्थापना गर्ने प्रक्रियामा रहेको जनाएको छ।