काठमाडौं- अमेरिकी अन्तर्राष्ट्रिय विकास एजेन्सी (युएसएआइडी)को सहयोग अन्तर्गत स्वास्थ्य क्षेत्रमा सरकारी संयन्त्रमा आएको ७२ करोड ४४ लाख रुपैयाँ रोकिएको छ।
नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले युएसएआइडीका कार्यक्रम रोक्दा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र मातहतका ५२ करोड २४ लाख ४० हजार रुपैयाँ र प्रदेशको १५ करोड र स्थानीय तहको ५ करोड रकम रोकिन पुगेको हो।
रकम रोकिएपछि स्वास्थ्यका कार्यक्रमहरु प्रभावित हुने भएका छन्। सबैभन्दा धेरै परिवार कल्याण अन्तर्गतका कार्यक्रमहरु प्रभावित हुने मन्त्रालयका कर्मचारीहरु बताउँछन्। परिवार कल्यण अन्तर्गत १४ करोड ८० लाख रुपैयाँ बजेट आउने भएको थियो। उक्त बजेटबाट परिवार कल्याण अन्तर्गत विभिन्न ३५ वटा कार्यक्रम हुने भएको थियो। तर रकम रोकिँदा ती सबै कार्यक्रम प्रभावित हुने देखिएको छ।
त्यसपछि स्वास्थ्य व्यवस्थापन कार्यक्रम अन्तर्गत १३ करोड ६५ लाख रुपैयाँ रकम रोकिएको छ। स्वास्थ्य व्यवस्थापन अन्तर्गत विभिन्न ४४ वटा कार्यक्रमहरु रहेका छन्।
त्यसैगरी, महामारी नियन्त्रण विषयको ६ करोड ९० लाख रुपैयाँ, स्वास्थ्य क्षेत्र सुधार कार्यक्रमको ३ करोड १७ लाख, प्रसूति गृहमा मिल्क बैक स्थापना तथा सञ्चालनका लागि १ करोड ५१ लाख रुपैयाँ, राष्ट्रिय स्वास्थ्य शिक्षा तथा सूचना केन्द्रको ३ करोड ५० लाख रुपैयाँ, राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रको ४ करोड ६ लाख रुपैयाँ रोकिएको छ।
यसैगरी, नर्सिङ तथा सामाजिक सुरक्षा सेवा कार्यक्रमको ४ करोड ४६ लाख रुपैयाँ / उपचारात्मक सेवा कार्यक्रमको ४९ लाख रुपैयाँ रोकिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।