काठमाडौं- वरिष्ठ मुटुरोग विशेषज्ञ डा अवनिभूषण उपाध्यायद्धारा लिखित ‘मान्छेको मुटु’ लोकापर्ण भएको छ ।
आइतबार एक कार्यक्रमबीच नेपाल हृयरोग निवारण संस्थाका अध्यक्ष डा सत्यनारायण सुवाल र नेपाल कार्डियाक सोसाइटीका अध्यक्ष प्राडा रत्नमणि गजुरेलले उक्त पुस्तकको लोकापर्ण गरेका हुन् ।
कार्यक्रममा प्राडा गजुरेलले पुस्तकमा मुटुको डाक्टर भएर मान्छेको मुटुलाई साहित्यमार्फत प्रस्फुटन गर्ने काम उत्कृष्ट भएको बताए। उनले पुस्तक अध्ययन गरेपछि डाक्टर भएर बिरामीको उपचार गर्नुमात्रै ठूलो होइन रहेछ भन्ने बुझिएको बताए ।
नेपाल ह्दयरोग निवारण संस्थाका अध्यक्ष सुवालले पुस्तकमा स्वास्थ्यका अनुसन्धानको तथ्यका बारेमा समेत प्रष्ट्याइएको बताए। उनले पुस्तक मेडिकल र ननमेडिकल व्यक्तिलाई समेत उपयोग हुने जानकारी दिए।
पुस्तकका लेखक डा उपाध्यायले बिरामीले औषधी किनेर नखाएपछि हृयदयाघात भएर मृत्यु भएको विषयलाई उल्लेख गरेको भन्दै पुस्तकमा भावनात्मक, आध्यात्मिक कुरा उल्लेख गरिएको बताए। उनले मन र मुटुबिच सम्बन्ध हुने विषय पनि पुस्तकमा समेटिएको जानकारी दिए।
नेपाल एनसीडी एलायन्सका अध्यक्ष डा प्रकाशराज रेग्मीले मान्छेको मुटुले सबैको मनको कुरा गरेको जानकारी दिए। उनले पुस्तक अध्ययन गर्न लायक रहेको जानकारी दिँदै पुस्तकमा स्वास्थ्यका विषय पनि समेटिएको बताए ।
गीतकार एवं लेखक राजेन्द्र थापाले ८० प्रतिशत प्राविधिक विषय भए पनि आम सर्वसाधारणका लागि सरल रुपले बुझ्न सकिने किताव तयार भएको बताए।
३१० पृष्ठको पुस्तकमा १७ वटा शीर्षक समावेश छन्। पुस्तकमा मुटुसम्बन्धी विविध रोग, त्यसबाट बच्ने उपाय र उपचारसम्बन्धी आम मानिसका अनेकौं जिज्ञासाको सरल जवाफ दिने प्रयास गरिएको छ। पुस्तकको बीचबीचमा प्रश्नोत्तर शैली अपनाइएको छ, जसले मुटुसँग सम्बन्धित आम मानिसको मनमा उत्पन्न हुने कोतुहल्ता मेट्न सहयोग पुग्ने लेखक डा उपाध्यायले बताए।