आजको युगमा मिडिया र सेलिब्रिटीहरूको जीवनशैलीले मानिसहरूको जीवनमा गहिरो प्रभाव पारिरहेको छ। स्वस्थ जीवनशैलीको प्रचारमा यी दुई साधनले समाजमा ठूलो परिवर्तन ल्याउन सक्छ। सेलिब्रिटीहरूले जब स्वस्थ जीवनशैली अपनाएर यसको प्रचार गर्छन्, मानिसहरूले त्यसलाई सहजै अनुशरण गर्छन्। यस्तै, स्वास्थ्य पत्रिकाहरूले जनचेतना फैलाउँदै मानिसहरूलाई स्वस्थ रहन प्रेरित गर्छन्।
यसै क्रममा, हालसालै चर्चित बलिउड र नेपाली चलचित्र अभिनेत्री मनिषा कोइरालालाई नेपालमा एचपीभी खोप अभियानकी सद्भावना दूत नियुक्त गरिएको छ। स्वयं क्यान्सरबाट बाँच्न सफल कोइरालाले नेपाली समाजमा एचपीभी खोपको महत्त्वबारे जनचेतना फैलाउनेछिन्। उनलाई सन् २०१२ मा डिम्बाशय (ओभेरियन) क्यान्सर भएको थियो, र उपचारपछि उनले स्वस्थ जीवनशैलीलाई उच्च प्राथमिकता दिँदै क्यान्सरबारे जनचेतना फैलाइरहेकी छिन्।
सेलिब्रिटीहरू स्वस्थ जीवनशैलीको प्रचारमा किन महत्वपूर्ण छन्?
सेलिब्रिटीहरू समाजका आदर्श व्यक्ति हुन्। उनीहरूको जीवनशैली र व्यवहारले लाखौँ मानिसलाई प्रभावित गर्न सक्छ। बलिउडका सुपरस्टार अक्षय कुमार, भारतीय क्रिकेटर विराट कोहली, र विश्वप्रसिद्ध फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डो जस्ता व्यक्तिहरूले स्वस्थ जीवनशैलीको उत्कृष्ट उदाहरण प्रस्तुत गरिरहेका छन्।
विशेष गरी क्रिस्टियानो रोनाल्डो, जसलाई सामाजिक सञ्जालमा करोडौँ मानिसले अनुसरण गर्छन्, स्वस्थ जीवनशैलीको प्रतीक मानिन्छन्। उनले आफ्नो कडा अनुशासन, स्वस्थ आहार, नियमित व्यायाम, र सकारात्मक मानसिकता प्रस्तुत गर्दै लाखौँ युवाहरूलाई प्रेरित गरिरहेका छन्।
रोनाल्डोले सोडा पेय पदार्थप्रति अस्वस्थकर सोच राख्दै सन् २०२१ मा युईएफए युरोकपको पत्रकार सम्मेलनमा कोकाकोला हटाएर 'पानी पिउनुहोस्' भनेका थिए। यस घटनापछि कोकाकोलाको सेयर मूल्य घटेको देखियो, जुन प्रमाण हो कि सेलिब्रिटीहरूका सन्देशले विश्वव्यापी प्रभाव पार्न सक्छन्।
स्वास्थ्य पत्रिका तथा अनलाइनको भूमिका
नेपाली बजारमा प्रकाशित ‘स्वास्थ्य खबर पत्रिका’ जस्ता पत्रिकाहरूले स्वस्थ जीवनशैलीको प्रचारमा ठूलो योगदान पुर्यातएका छन्। यी पत्रिकाले पोषण, व्यायाम, मानसिक स्वास्थ्य र रोग-निवारण जस्ता विषयलाई प्राथमिकता दिँदै मानिसहरूलाई आफ्ना जीवनशैलीमा सुधार ल्याउन प्रेरित गरेका छन्।
‘स्वास्थ्य खबर पत्रिका’ ले प्रकाशित गरेका विशेष लेखहरूले पाठकहरूलाई रोग-निवारणका उपाय र स्वस्थ जीवनशैलीका महत्त्वपूर्ण पक्षबारे जानकारी दिएका छन्।
सेलिब्रिटीहरूको नकारात्मक प्रचार : चेतावनी दिनुपर्ने महत्त्व
सेलिब्रिटीहरूले कहिलेकाहीँ गलत उत्पादनहरूको प्रचार गरेर समाजमा नकारात्मक प्रभाव पनि पार्छन्। उदाहरणका लागि, केही सेलिब्रिटीहरूले चुरोट, मदिरा र कार्बोनेटेड पेय पदार्थहरूको प्रचार गरेका छन्, जसले युवाहरूमा ती उत्पादनहरूको प्रयोगको दर बढाएको छ।
अनुसन्धानले देखाएको छ कि तिनीहरूको प्रचारका कारण युवाहरूमा चुरोट सेवनको प्रतिशत वृद्धि भएको पाइएको छ। त्यसैले, सेलिब्रिटीहरूले स्वस्थ जीवनशैली प्रवर्द्धनमा मात्र ध्यान दिनुपर्छ।
मिडियाको प्रभाव : अनुसन्धानद्वारा पुष्टि
सेलिब्रिटी र मिडियाको प्रभावलाई विभिन्न अनुसन्धानहरूले पुष्टि गरेका छन्।
१. ‘लेट्स मूभ’ अभियान, अमेरिका – पूर्व प्रथम महिला मिशेल ओबामाले सुरु गरेको यस अभियानले बालबालिकामा मोटोपन घटाउन केन्द्रित गर्योह। अनुसन्धानका अनुसार, यस अभियानले १ करोडभन्दा बढी बालबालिकालाई सक्रिय जीवनशैली अपनाउन प्रेरित गर्यो ।
२. धूमपानविरुद्धको अभियान, अस्ट्रेलिया – मिडिया र विज्ञापनको प्रयोग गरेर धूमपान घटाउने कार्यक्रमले धूमपान गर्नेहरूको संख्या ३० प्रतिशतले घटाएको देखियो।
३. योग प्रवर्द्धन, भारत – प्रधानमन्त्री नरेन्द्र मोदीको योग दिवसको प्रचारले विश्वभर योगप्रतिको रुचि बढाएको छ।
नेपालमा सुधारका लागि सुझाव
नेपालमा सेलिब्रिटी र मिडियाको प्रभावलाई अझ प्रभावकारी बनाउन निम्न सुझावहरू लागू गर्न सकिन्छ:
१ सेलिब्रिटी सहभागिता : नेपाली कलाकारहरूले स्वस्थ जीवनशैलीको प्रचारमा सक्रिय भूमिका खेल्नुपर्छ। उनीहरूले व्यायाम, स्वस्थ आहार, र मानसिक स्वास्थ्य जस्ता पक्षबारे प्रचार गर्नुपर्छ।
२ स्थानीय अभियान : स्वास्थ्य पत्रिकाहरूले स्थानीय कार्यक्रमहरूसँग सहकार्य गरेर ग्रामीण क्षेत्रमा सचेतना कार्यक्रम सञ्चालन गर्नु।
३ डिजिटल प्लेटफर्म प्रयोग : डिजिटल मिडियामा छोटो भिडियो, ब्लग, र इन्फोग्राफिक्सको प्रयोग गरेर जनचेतना अभिवृद्धि गर्नु।
निष्कर्ष
सेलिब्रिटी र स्वास्थ्य पत्रिकाहरूको प्रभावले समाजमा सकारात्मक परिवर्तन ल्याउन सक्छ। ‘स्वास्थ्य खबर पत्रिका’ जस्ता पत्रिकाहरू र सेलिब्रिटीहरूको सक्रियताले नेपाली समाजलाई स्वस्थ र समृद्ध बनाउन महत्वपूर्ण भूमिका खेल्छन्।
मनिषा कोइरालाले क्यान्सरबाट बाँच्न सफल भएपछि क्यान्सर सचेतनामा निरन्तर योगदान दिइरहेकी छिन्। अब उनी नेपालमा एचपीभी खोप प्रवर्द्धन गर्दै सर्वाइकल क्यान्सरविरुद्धको लडाइँमा नेतृत्व लिईरहेकी छिन्, जुन नेपाली महिलाहरूका लागि प्रेरणादायी उदाहरण हो।
(डा गुरागाईं विराट मेडिकल कलेजको सामुदायिक चिकित्सा विभागमा कार्यरत छन्)