काठमाडौँ- चिकित्सा शिक्षा आयोगको बैठकमा निजी मेडिकल कलेजमा अध्ययन गर्ने विदेशी विद्यार्थीको सिट सङ्ख्या वृद्धि गर्ने विषयमा छलफल भएको छ।
प्रधानमन्त्री एवं चिकित्सा शिक्षा आयोगका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको आयोगको १७ औँ बैठकमा निजी मेडिकल कलेजहरूले आवासीय चिकित्सकलाई सरकारी सरह निर्वाह भत्ता उपलब्ध गराउनुपर्ने निर्णय कार्यान्वयन गर्न सहज बनाउन विदेशी विद्यार्थीको सङ्ख्या बढाउने प्रस्ताव आएको हो।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरवारमा सम्पन्न बैठकमा उक्त प्रस्तावले प्रवेश पाएपनि थप निर्णय भने अर्को बैठकमा गरिने बताइएको छ। हाल विदेशी विद्यार्थीका लागि १० प्रतिशत सिट छुट्याइएको छ। विदेशी विद्यार्थीका लागि थप सिट थपिनेछ।
यसअघि माघ २५ गते बसेको आयोगको १६ औँ बैठकले निजी मेडिकल कलेजहरूले आवासीय चिकित्सकलाई सरकारी तहको मासिक रु ४८ हजार ४३६ बराबरको निर्वाह भत्ता दिनुपर्ने निर्णय गरेको थियो। निजी मेडिकल कलेजहरुले उक्त निर्णय कार्यान्वयन गर्न नसकिने बताएका थिए।
बैठकले स्नातकोत्तर तह (पीजी)मा २०९ सिट थप गर्ने निर्णय गरिएको छ। साथै, नर्सिङ शिक्षा अध्ययन तथा क्षमता विस्तारसम्बन्धी कार्यदलको प्रतिवेदन पारित गरिएको छ। शैक्षिक संस्था र कार्यक्रम गाभ्ने मापदण्डबारे समेत बैठकमा छलफल भएको छ।
प्रधानमन्त्री ओलीले निजी मेडिकल कलेजहरूसँग सहकार्य आवश्यक रहेको बताउँदै, सरकार सबै विद्यार्थीलाई निःशुल्क पढाउन नसक्ने भएकाले उठेका समस्याहरूको थप गृहकार्य गर्न निर्देशन दिएका छन्। साथै, नर्सिङ शिक्षालाई निरन्तरता दिने र नर्सहरूको सेवा-सुविधा वृद्धि गर्न ठोस प्रस्ताव ल्याउनुपर्ने धारणा राखेका छन्।
छलफलमा सहभागी एक सदस्यका अनुसार प्रधानमन्त्री ओलीले उक्त कुरा राखेपछि नेपाल स्वास्थ्य व्यवसायी परिषदका अध्यक्ष सुबोध शर्माले नेपालका कलेजहरुमा विदेशी विद्यार्थीहरुलाई पढाउने सिट संख्या बढाउनु पर्ने मत राखेका थिए। 'उनले नेपालमा विदेशी मुद्रा भित्र्याउन र नेपाली विद्यार्थीहरुलाई निशुल्क र कम शुल्कमा पढाउने हो भने विदेशी विद्यार्थीको कोटा धेरै बढाउनु पर्ने मत बलियोसँग राखेका थिए,' ती सदस्यले भने, 'विदेशी विद्यार्थीसहित कलेजहरुको कोटाका विषयमा थप अध्ययन गरेर अर्को बैठकमा छलफल गर्ने निर्णय भएको छ।'