काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा रोशन पोखरेलले नसर्ने रोगको रोकथामका लागि जीवनशैली परिवर्तन आवश्यक रहेको बताएका छन्।
सरकारले फागुन महिनालाई नसर्ने रोगहरूको ‘स्क्रिनिङ’ (पहिचान गर्ने) महिनाका रूपमा मनाउने निर्णय गरेको छ। सचिव पोखरेलले उक्त अभियानको उद्घाटन कार्यक्रममा बोल्दै यस्तो बताएका हुन्।
सरकारले आज फागुन १ गतेबाट नसर्ने रोगहरूको पहिचान गर्ने कार्य गर्ने कार्यको थालनी गरेको हो। रोगहरूको स्क्रिनिङ कार्यक्रम सबै स्थानीय तहमा रहेका स्वास्थ्य संस्थाबाट गरिने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका महानिर्देशक डा यदुचन्द्र घिमिरेले बताए।
उनका अनुसार ३० वर्षभन्दा माथिका सबै नागरिकको स्वास्थ्य जाँच गरिनेछ। ‘स्थानीय तह अन्तर्गतका स्वास्थ्य संस्थाहरूबाट फागुन महिनाभर नसर्ने रोगको अवस्था पहिचान गर्न लक्षित उमेर समूहका व्यक्तिहरूको स्वास्थय परीक्षणका साथै स्वास्थ्य प्रवद्र्धन तथा जोखिम न्यूनीकरणका लागि बृहत् क्रियाकलापहरू सबै प्रदेश र स्थानीय तह मार्फत् सञ्चालन हुँदैछ', उनले भने।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, स्वास्थ्य समन्वय महाशाखाका प्रमुख डा भिमप्रसाद सापकोटाका अनुसार फागुन महिनाभर मधुमेह, मिर्गौला सम्बन्धी रोगको जाँच, रक्तचाप मापन तथा उचाइ र तौलको आधारमा बिएमआई मापन गरिने छ। यसबाट व्यक्तिको साधारण स्वास्थ्य अवस्था जान्न सकिने छ। चार वटा अवस्था जाँच गरेपछि त्यसको नतिजाअनुसार थप कार्य गर्न सजिलो हुने उनको भनाइ छ।