काठमाडौं- नेपाली औषधि उत्पादन उद्योग ओम मेगाश्री फर्मास्युटिकल्सले वैदेशिक रोजगारीमा गएका नेपालीहरूका लागि लक्षित गर्दै खुलाएको आईपीओबाट १५ करोड भन्दा बढी उठाएको छ। कम्पनीले प्रदान गरेको पछिल्लो अपडेटअनुसार १५ करोड ५३ लाख १७ हजार रुपैयाँ उठेको छ।
१५ लाख ५३ हजार १७० कित्ताका लागि वैदेशिक रोजगारीमा रहेका ५६ हजार ३३९ जनाले आवेदन दिएका हुन्। ओम मेगाश्रीको आईपीओमा आवेदन परेको यो संख्या मागभन्दा बढी हो।
सेयर निष्कासन हुने बिक्री प्रवन्धक प्रभु क्यापिटलका अनुसार जारी पूँजी ६० करोडमध्ये ३० प्रतिशत सेयर सर्वसाधारणमा जारी गर्न अनुमति पाएको हो। आईपीओमा न्यूनतम १० कित्ता सेयरका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १० हजार कित्तासम्म आवेदन दिन सकिने व्यवस्था छ। हरेकले प्राप्त गर्ने भने जम्मा १० कित्ता रहेको छ।
सर्वसाधारका लागि कम्पनीको १८ लाख कित्ता सेयर जारी हुनेछ। जसमध्ये वैदेशिक रोजगारमा रहेकाहरूका लागि १ लाख ८० हजार कित्ता सेयर निष्कासन गरेको हो।
ओम मेगाश्रीले ५ प्रतिशत अर्थात ९० हजार कित्ता सेयर सामूहिक लगानी कोषका लागि र ३ प्रतिशत अर्थात ५४ हजार कित्ता सेयर कम्पनीका कर्मचारीहरूलाई छुट्याएको छ। बाँकी रहेको १४ लाख ७६ हजार कित्ता सेयर कम्पनीले सर्वसाधारणका लागि निष्कासन गर्नेछ।