साल्ट ट्रेडिङमा नुन प्याक गरिँदै । आश्मा केसी नुन खोज्दै ललितपुरको ग्वार्कोबाट काठमाडौंको असन छिरिन्। घर छेउको पसलमा नपाएर उनी नुन खोज्दै ८ किलोमिटर टाढा असनको गल्ली चहार्न पक्कै गएकी होइनन्। ढिके नुनको खोजीमा धेरै पसलमा चहार्दै उनी पहिलो पटक नुन लिन असन पुगेकी हुन्।

असनबाट इन्द्रचोकतर्फ अघि बढ्दा दायाँतर्फको पहिलो गल्लीमा नुन पाइने उनले सोधखोजबाट पत्ता लगाइन्। जहाँ ७० वर्षीया सुवर्ण श्रेष्ठ काठको भाडामा ढिके नुन राखेर आफूचाहिँ भित्तामा अडेस लागेर बसेकी थिइन्।
परिवारले सय वर्षभन्दा पहिलादेखि नै नुन व्यापार गर्दै आएको बताउने उनी आश्माजस्तै ढिके नुन प्रयोग गर्न चाहने ग्राहककै पखाईमा थिइन्।
साथीसहित पुगेकी आश्माले ३ किलो ढिके राखिदिन सुवर्णलाई अनुरोध गरिन्। यहाँ नुन जोखेर होइन, रंगको बट्टा (ट्वाक) मा भरेर पाइन्छ। एक ट्वाकमा २ किलो हुने सुवर्णको दाबी छ। वरिपरि घरैघरले घेरिएको बीचको खुला ठाउँ, जहाँ पार्किङ पनि छ, त्यहाँ सुरुमै सुवर्णको नुन पसल। यही पसलको नियमित ग्राहकको सूचीमा आश्मा पनि थपिएकी छिन्।

असनकी सुवर्ण श्रेष्ठ नुन बेच्दै। तस्बिर : मकर श्रेष्ठ/निमजिन
प्याकेटको नुनमा आयोडिनको मात्रा बढी हुने सुनेपछि आश्माको परिवार भान्सामा ढिके नुन भित्र्याउन राजी भएका हुन्। उनी भन्छिन, “नेपालमा पाइने प्याकेट नुनमा आयोडिन बढी हुन्छ भन्ने सुनेको छु। त्यसैले भान्सामा केही परिवर्तन गरौँ भनेर ढिके नुन खान थालेको हो।”
गलगाँड नियन्त्रण गर्न सरकारले २०५७ सालमा नुनमा आयोडिनको मात्र तोक्यो। जसअनुसार उपभोक्ताको भान्सामा पुग्दा नुनमा ३० पीपीएम आयोडिन हुनुपर्छ। यो मात्रा विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले तोकेको मात्र नभएर हाम्रै छिमेकी देश भारतको भन्दा दोब्बर बढी हो।
सरकारले नै बढी आयोडिन खुवाइरहेका नेपालीको भान्सामा भने सरकारले तोकेको न्यूनतम मात्राभन्दा दोब्बर र विश्व स्वास्थ्य संगठनको मापदण्डभन्दा तेब्बर बढी आयोडिन पुगिरहेको छ। जसले गर्दा हामी आयोडिनको मात्रा बढी भएर लाग्ने रोगबाट पीडित हुँदै गइरहेका छौं।
विश्व स्वास्थ्य संगठन डब्लूएचओले उत्पादन स्तरमा ४० पीपीएम र उपभोक्ताकोमा पुग्दा १५ पीपीएम हुनुपर्ने मापदण्ड निर्धारण गरेको छ। छिमेकी देश भारतमा उपभोक्ताले खुद्रा किन्दा १५ पीपीएम र उत्पादन गर्दा ३० पीपीएम हुनुपर्ने मापदण्ड छ। डब्लूएचओ र भारतको मापदण्डभन्दा नेपालको मापदण्डमा आयोडिन बढी नै छ।
सरकारले तोकेको मापदण्डअनुसार नेपालमा बिक्री हुने नुन उपभोक्तासम्म आइपुग्दा ३० पीपीएम हुनुपर्छ। तर नेपाल इन्भेस्टिगेटिभ मल्टिमिडिया जर्नालिज्म नेटवर्क (निमजिन) ले सातै प्रदेशबाट संकलन गरेको आयो नुनको प्याकेट र असनमा बिक्री भइरहेको ढिके नुनको नमुना परीक्षण गर्दा सरकारले तोकेको मात्राभन्दा बढी आयोडिन भेटिएको छ।
सरकारकै खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागमा ९ वटा आयो नुन र एउटा ढिके नुन तथा र निजी क्षेत्रको जेष्ठ ल्याबमा २ वटा आयो नुनको नमुना परीक्षण गरिएकोमा डब्लूएचओ र भारतको मापदण्डभन्दा २ सय ४६ प्रतिशत बढी आयोडिन पाइएको छ।
सरकारले २०५७ मा तोकेको भन्दा झन्डै दोब्बरसम्म नुनमा आयोडिनको मात्रा पाइएको छ। विभागमा १० वटा नमुना परीक्षण गर्दा कम्तीमा ३० र बढीमा ५२.२ पीपीएम भएको आयोडिन युक्त नुन बजारमा बिक्री भइरहेको पाइएको हो।

निमजिनले सुदूरपश्चिमबाट संकलन गरेको एसआरसी-९ ब्याचको नुनमा ५२.२ पीपीएम आयोडिन पाइएको छ।
विभागले उपलब्ध गराएको रिपोर्टमा भनिएको छ, “तोकिएको मापदण्ड ३० मा घटेको छैन। सरकारले आयोडिनयुक्त नुनका लागि तोकेको अनिवार्य गुणस्तरअनुरूप रहेको छ।” सरकारले आयोडिनको मात्रा न्यूनतम ३० पीपीएम तोके पनि अधिकतम कतिसम्म हुने भनेर बोलेको छैन।
विभागमा गरिएका १० वटा नमुनामध्ये ७ वटामा ३० देखि ४० पीपीएम र २ वटामा ४० पीपीएमभन्दा माथि आयोडिन पाइएको छ। जबकि जेष्ठ ल्याबमा गरिएको २ वटा परीक्षणमा ४९.३ र ४८.५२ पीपीएम आयोडिन पाइएको छ।
विभागले गतवर्ष आफैं नमुना संकलन गरेर नुन परीक्षण गर्दा त योभन्दा पनि बढी ८० पीपीएमसम्म आयोडिन भेटिएको थियो। गतवर्ष १९ वटा नमुना परीक्षण गरेकोमा न्यूनतम ५१ र बढीमा ८० पीपीएम आयोडिनको मात्रा देखिएको विभागका महानिर्देशक सञ्जीवकुमार कर्णले बताए।
विभागले गरेको १९ वटा नमुना परीक्षणमा ५० देखि ६० पीपीएमभित्र १२ वटा, ६१ देखि ७० पीपीएम आयोडिन भएको ५ वटा र ७१ देखि ८० पीपीएम आयोडिनको मात्रा भेटिएको दुइटा नमुना भेटिएका हुन्।
८० पीपीएम भनेको विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्डभन्दा ४ सय ३३ प्रतिशत बढी हो।
निमजिनले नमुना संकलन गरी परीक्षण गरेको नतिजाअनुसार १० नमुनामध्ये ८ वटा ३० देखि ४० पीपीएम रहेको छ भने २ वटा ४० पीपीएमभन्दा बढी पाइएको हो। “परीक्षणमा जे नतिजा आएको छ, यो सरकारले निर्धारण गरेको मापदण्डभित्रै छ,” विभागका महानिर्देशक सञ्जीवकुमार कर्णले भने।
आयो नुनमा आयोडिन बढी भएको र यो खाँदा रोग लाग्ने डरले आश्माजस्तै असनमा नियमित ढिके नुन लिने हूलमा काठमाडौं दक्षिणकालीबाट आएकी सुस्मिता थापा पनि छिन्। घरमा थाइराइड, सुगर र मुटु रोगी भएकै कारण ढिके नुन खाने गरेको उनले बताइन्। “डाक्टरले एक दिन ढिके नुन र एक दिन आयोडिन नुन खान सल्लाह दिएकाले एक वर्षदेखि ढिके नुन खाइरहेका छौं,” उनले भनिन्।
काठमाडौं डाइबेटिज एन्ड थाइराइड सेन्टरका इन्डोक्राइनोलोजिस्ट डा. अंशुमाली जोशीले आयोडिनको मात्रा बढी भएका कारण थाइराइड भएका व्यक्तिलाई एक छाक ढिके र अर्को छाक आयोडिनयुक्त नुन खान सल्लाह दिने गरेको बताए। “नुनमा आयोडिन मात्रा बढीे हुने भएकाले थाइराइड हुनेको संख्या बढी देखिन्छ,” उनले भने, “आयोडिनकै कारण थाइराइड भएको पत्ता लागेपछि आयोडिनको मात्रा मिलाउन एक छाक आयो नुन र अर्को छाक ढिके नुन खान सल्लाह दिने गरेको छु।”
उनका अनुसार एक छाक मात्र आयो नुन खाँदा शरीरलाई आयोडिनको मात्रा ठिक्क हुन्छ। “जबसम्म सरकारले आयोडिनको मात्रा घटाउँदैन तबसम्म यही गर्नुको विकल्प छैन,” उनी भन्छन्।
डाक्टरले नै आयोडिन कम खान सुझाव दिन थालेपछि सहरी क्षेत्रका मात्र होइन ग्रामीण भेगका उपभोक्ताहरू पनि प्याकेटको आयो नुन प्रयोग छाडेर विस्तारै ढिके नुनतर्फ अघि बढेका छन्।
दोलखा सिंगटीका व्यापारी दीपक पाण्डेको व्यापारले ढिके नुनको माग बढेको संकेत गर्छ। उनी भन्छन्, “मैले ३५ बोरा ढिके नुन (१ हजार ७५० किलो) झार्दा आयो नुन १० बोरा मात्रै ल्याएको छु।” गाउँमा गाईवस्तुलाई मात्रै नभई मान्छेले पनि ढिके नुन नै प्रयोग गर्न थालेको उनी बताउँछन्।

दोलखा सिंगटीका व्यापारी दीपक पाण्डेको पसलमा ढिके नुन झारिँदै। तस्बिर : मकर श्रेष्ठ/निमजिन
माघ १०, २०५७ मा तत्कालीन कृषि तथा सहकारी मन्त्रालयले खाद्य ऐनको दफा ७ को अधिकार प्रयोग गरेर नुनमा हुनुपर्ने आयोडिनको मात्रा निर्धारण गरेको थियो।

राजपत्रमा प्रकाशित सूचनअनुसार उत्पादन स्तरमा प्रतिकिलोग्राम ५० मिलिग्राम (५० पीपीएम) र खुद्रा बिक्री गर्दा प्रतिकिलोग्राम ३० मिलिग्राम (३० पीपीएम) आयोडिनको मात्रा हुनुपर्छ।
“आयोडिनको कमीले गलगाँड आएपछि यसलाई रोकथाम गर्न यो मात्रा निर्धारण गरिएको थियो,” स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखा प्रमुख विवेककुमार लालले भने, “अहिले गलगाँडको समस्या छैन, तर आयोडिनको मात्राको मापदण्ड पुरानै छ।”
ढिके र प्याकेटमा आयोडिन उस्तै
आयोडिन कम खान चाहने उपभोक्ता ढिके नुन खोज्दै असनका गल्लीगल्ली चहार्ने गरे पनि, गाउँगाउँमा आयो नुनको सट्टा ढिके नुनको माग धेरै भए पनि ढिके नुन आयोडिनविहीन छैन।
निमजिनले परीक्षण गरेका १० वटा नमुनामा एउटा नमुना ढिके नुनको थियो। त्यो नुन हामीले असनबाट खुला रूपमा किनेर परीक्षणमा दिएका थियौं।
ढिके नुनको आयोडिन परीक्षण रिपोर्ट।खुला राख्दा आयोडिन उडेर जाने भन्दै उत्पादनमा ५० पीपीएम र भान्सामा पुग्दा ३० पीपीएम तोकिएको छ। तर हामीले खुला किनेको ढिके नुनमा ३२.७ पीपीएम आयोडिन पाइएको छ।
यस्तै जनवरी, २०२५ मा प्याकिङ भएको विराटनगरबाट संकलन गरिएको नुन परीक्षण गर्दा ३३.६ पीपीएम आयोडिन पाइएको छ।
यो नुन प्याकिङ भएको ठीक एक वर्षअघि २०२४ जनवरीमै भारतको अंकुर केमफुड लिमिटेडले प्याकिङ गरेको अर्को प्याकेट हामीले सुर्खेतबाट संकलन गरेका थियौं। यसमा ३५.७ पीपीएम पाइएको छ।
ब्याच एउटै, फरक प्रयोगशाला फरक नतिजा
निमजिनले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागमा जुन ब्याचको नमुना परीक्षण गराएको थियो, त्यही ब्याचको अर्को प्याकेट निजी प्रयोगशालामा पठाएको थियो।
काठमाडौंमा २०२५ जनवरीमा प्याकिङ भएको ब्याच नम्बर केटीएम/जेट ए/दुई भएको एउटा प्याकेट विभागमा परीक्षण गर्दा ४१.५ पीपीएम आयोडिन पाइएको थियो। त्यही पसलबाट किनेको उही ब्याचको अर्को प्याकेट भक्तपुरको जेष्ठ ल्याबमा परीक्षण गर्दा ४९.३ पीपीएम आयोडिन पाइएको छ।
निजी प्रयोगशाला र सरकारी प्रयोगशालामा गरिएको परीक्षणको रिपोर्ट।“एउटै ब्याचको भए पनि नतिजा फरक आउन सक्छ। एकै पटक धेरै नुनमा आयोडिन मिसाउँदा कुनैमा कम र कुनैमा बढी हुन सक्छ,” साल्ट ट्रेडिङका सूचना अधिकारी कुमार राजभण्डारीले भने।
उनले नुनमा पछि मात्रै आयोडिन मिसाइने भएकाले कुनैमा घटी र कुनैमा बढी हुन सक्ने बताए। “कुनै कुरा मिसाउँदा शतप्रतिशत कहिल्यै पनि नहुन सक्छ,” उनी भन्छन्, “त्यसैले नुनमा आयोडिन मिसाउँदा थोरै बढी पनि हुन सक्छ, घटी पनि हुन सक्छ।”
अहिलेको भन्दा एक वर्ष पुरानो नुनमा आयोडिन बढी हुनुलाई उनले प्याकिङ राम्रो भएको बताए।
आयोडिन बढी हुँदा के हुन्छ ?
आयोडिनको कमीले नेपालीहरूमा गलगाँड आएपछि यसलाई रोक्न उपभोक्ताको भान्सासम्म आयोडिनयुक्त नुन पठाइएको हो। नुनमा राखिएको आयोडिनकै कारण गलगाँड आउने समस्या अन्त्य भएको इन्ड्रोक्राइनोलोजिस्टहरूले बताएका छन्।
“हाम्रो जस्तो हिमालयन बेल्ट आयोेडिन कम हुने क्षेत्रमा पर्छ, आयोडिनको मात्रा कम हँुदा बच्चामा लुलोलङ्गडो हुने, गलगाँड आउने समस्या थियो, अहिले आयोडिनको मात्रा बढी छ,” इन्ड्रोक्राइनोलोजिस्ट डा. अंशुमाली जोशी भन्छन्, “यसको असर पनि देखिएको छ, नुनमा आयोडिन हुँदा थाइराइडको हर्मोनसम्बन्धी रोग बढेको छ।”
जोशीका अनुसार अहिले गलगाँड त अहिले देखिएको छैन तर हर्मोन बढी हुने र हर्मोन कम हुने रोग देखिएको छ। “थाइराइड भएको व्यक्तिमाथि गरिएको अध्ययनले पनि ५० प्रतिशतमा अटोइम्युन देखिएको थियो, यसको एउटा कारण आयोडिन हुन सक्छ,” डा. जोशी भन्छन्।
मुटुरोग विशेषज्ञहरू पनि नुनमा बढी हुने आयोडिनको असर मुटुमा पनि परेको बताउँछन्। नुन शरीरलाई आवश्यक पदार्थ भए पनि आवश्यकताभन्दा बढी प्रयोग गरेमा मुटुलाई असर गर्ने धुलिखेल अस्पतालका मुटुरोग विशेषज्ञ डा.राजेन्द्र कोजू बताउँछन्।
विश्व स्वास्थ्य संगठनले दैनिक ५ ग्रामसम्म नुन खान सकिने मापदण्ड तोकेको छ। “नुन हाम्रो शरीरलाई नभई नहुने तत्त्व हो। बढी खायो भने शरीरलाई असर गर्छ। यसले उच्च रक्तचाप हुन्छ र मुटुलाई असर गर्छ,” उनी भन्छन्, “अझ आयोडिन भएको नुनले त थाइरोक्सिन हर्मनको गडबढी हुन्छ। थाइराइड हर्मनमा गडबढी भयो भने मुटुलाई पनि असर गर्छ। थाइराइड हर्मन सन्तुलनमा राख्न सकिएन भने त्यसको असर मुटुमा देखिन्छ।”
आयोडिन घटाउन र अधिकतम मात्रा पनि तोक्न सुझाव
न्युयोर्क एकेडेमी अफ साइन्सेसले २ वर्षअघि एनल्स अफ द न्युयोर्क एकेडेमी अफ साइन्सेसमा प्रकाशित गरेको एक अध्ययन प्रतिवेदनअनुसार नेपालका ७ जिल्लाका २ हजार १ सय १७ घरधुरीबाट संकलित नुन परीक्षण गर्दा आयोडिनको मात्रा बढी पाइएको थियो।
हजारभन्दा बढी घरबाट संकलन गरिएको नुनमा चाहिनेभन्दा बढी आयोडिन भेटिएको अनुसन्धानले खुलाएको छ। धनकुटा, सिरहा, कैलाली, रूपन्देही, काठमाडौं, कास्की र चितवनका २ हजार १ सय १७ घरको नमुना परीक्षण गर्दा १ हजार ७ सय ७७ नमुनामा बढी मात्रामा आयोडिन फेला परेको अध्ययनले देखाएको हो।
यस्तै, काठमाडौं इन्स्टिच्युट अफ एप्लाइड साइन्सेस (केआईएस), त्रिभुवन विश्वविद्यालय केन्द्रीय रसायनशास्त्र विभागका अनुसन्धानकर्ताले भान्सामा प्रयोग हुने नुनमा ५४ पीपीएम आयोडिनको मात्रा हुने गरेको पत्ता लगाएका थिए।
“हामीले किचेनबाटै संकलन गरेको नुनमा आयोडिन कति छ ? भनेर परीक्षण गरेका थियौँ, त्यसमा ९८.८ प्रतिशतले आयोडिन भएकै नुन खाँदा रहेछन्, आयो नुनमा औसतमा ५४ प्रतिशत पीपीएम पाइएको थियो,” अध्ययनमा संलग्न केआईएसका प्रमुख वसन्त गिरी भन्छन्, “डब्लूएचओले तरकारीमा हाल्ने बेलामा १५ पीपीएम हुनुपर्ने भनेको छ। तर हामीले गरेको अध्ययनमा बढी आयोडिन भएको नुन पाइयो।”
भारतमा आयोडिन मिसाउने क्रममा कमजोरी भएको हुन सक्ने उनको दाबी छ। नेपालमा प्याकिङ हुने नुन पनि भारतमै आयोडिन मिसाएर ल्याउने गरेको उनले बताए। नुनमा कति आयोडिन राख्ने भन्ने बेलामा भारतमा मिसाएको हुन्छ। प्याकिङ केही भारतमै हुन्छ। केही नेपालमा हुन्छ। प्याकिङ गर्दा, स्टोर गर्दा आयोडिन उडेर जान सक्छ। पकाउँदा पनि आयोडिन उडेर जान्छ।
नुनमा आयोडिन मिसाउँदा ६० पीपीएम राख्यो भने पकाउने बेलासम्म १५ पीपीएम हुन्छ भन्ने हिसाबले काम गरिएको हुन सक्ने उनी बताउँछन्। निमजिनले सुदूरपश्चिम प्रदेशको धनगढीबाट संकलन गरेको भारतमा प्याकिङ भएको एसआरसी–०९ ब्याचको नुनमा सबैभन्दा धेरै ५२.२ पीपीएम पाइएको छ। वीरगन्जबाट संकलित भारतमा प्याकिङ भएकोमा नुनमा भने ३२.७ पीपीएम पाइयो।
“अहिले प्याकेजिङ पनि राम्रो छ। यातायातको सुविधा राम्रो भएकाले फटाफट पुग्छ। घर घरमा पनि बट्टामा राख्ने भएर होला, भारतमा जति आयोडिन राखेको यहाँ भान्सामा पुग्दा पनि त्यति नै आयोडिन पायौँ,” गिरीले भने। आफूहरूको अध्ययनको नतिजा सार्वजनिक भएपछि सरकारीस्तरमा भएको छलफलमा नुनमा आयोडिन बढी भएको स्वीकार पनि भएको उनले बताए। भारतमा आयोडिन मिसाउँदा कति हाल्ने भन्ने नीतिमा पुनरावलोकन हुनुपर्नेमा सबै तह सहमत भएको जानकारी आफूले पाएको गिरीले बताए।
नुनमा आयोडिनको मात्रा तय गर्दा आयोडियन कम भयो भने गलगाँडलगायत अन्य समस्या हुन्छ भन्ने थाहा भए पनि बढी हुँदा के हुन्छ ? भन्ने आकलन नै नगरिँदा समस्या हुने नगरेको गिरीले बताए। “अध्ययनले नुनमा आयोडिन बढी भयो भने पनि स्वास्थ्यमा असर गर्छ भन्ने देखाएको छ। त्यसैले अब अधिकतम मात्रा पनि तोक्नुपर्ने हुन्छ,” गिरीले भने।
उत्पादन स्तरमा ५० पीपीएम र खुद्रा उपभोक्तामा ३० पीपीएम घट्न नहुने मापदण्डमा पुनरावलोकन गर्न सुझाव आइरहेको स्वास्थ्य सेवा विभागका परिवार कल्याण महाशाखा प्रमुख डा. लालले पनि स्वीकार गरे। “कृषि मन्त्रालयले जारी गरेको मापदण्ड अहिले पनि त्यही छ,” परिवार कल्याण महाशाखाका प्रमुख डा. लालले भने, “स्वास्थ्यकर्मीहरूले आयोडिनको मात्रा बढी भयो घटाउनुप¥यो भन्दै गुनासो आइरहेको छ।”
सुझाव भएन कार्यान्वयन
स्वास्थ्यकर्मी र चिकित्सकहरूले विश्व स्वास्थ्य संगठनले तोकेको भन्दा बढी आयोडिनले स्वास्थ्यमा समस्या निम्त्याएको भन्दै आयोडिनको मात्रा घटाउनुपर्ने सुझाव सरकारलाई दिने गरेका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र युनिसेफले २०१६ मा गरेको सूक्ष्म पोषक तत्त्व सर्भेमा विद्यालय जाने उमेरका बालबालिकालाई आयोडिनको मात्रा बढी देखिएको थियो।
स्वास्थ्य मन्त्रालयको परिवार कल्याण महाशाखाका प्रमुख लालले ६ देखि ९ वर्ष उमेर समूहका बालबालिकाको पिसाबमा आयोडिन रहेको अध्ययनले देखाएको बताए। “प्रतिलिटर १ सय माइक्रोग्राम आयोडिन हुनुपर्नेमा स्कुल जाने बालबालिकाको पिसाबमा ३ सय १४ पाइएको थियो,” उनले भने, “यसले बालबालिकामा आयोडिनको मात्रा बढी रहेको देखिन्छ।” यसले नुनमा आयोडिनको मात्रा बढी भएको पुष्टि गर्ने उनले बताए।
डा.अंशुमाली जोशी, डा.प्रियदर्शिनी योञ्जन र नर्स सविना तामाङले ५ वर्षअघि हाइपोथाइरोडिज्म भएका १ हजार जना व्यक्तिमाथि गरेको अध्ययनमा ५० प्रतिशतमा अटोइम्युन (हासिमोटो थाइराइड) भएको पाइएको थियो ।
“थाइराड भएको ५० प्रतिशतभन्दा बढीमा अटोइम्युन देखिएको हो । यस्तो थाइराइडको एउटा कारण आयोडिनको मात्रा बढी हुनु हो,” उनले भने ।
सरकारले नभनेसम्म आयोडिन घटाउन सकिँदैन
भान्सामा पुग्दा नुनमा ३० पीपीएम आयोडिन हुनुपर्ने सरकारी मापदण्डलाई पालना गर्दै साल्ट ट्रेडिङले प्याकिङ गर्दा ६० पीपीएम आयोडिन मिसाउने स्वीकार गरेको छ । “हामीले भारतको गुजरातबाट नुन ल्याउछौं । सरकारले तोकेको आयोडिनको मात्रा पूरा गर्न त्यहीँ ६० पीपीएम आयोडिन हुने गरी पानीमा मिसाएर स्प्रे गर्ने गरिन्छ, त्यसैले नुनमा आयोडिनको मात्रा तलमाथि हुन सक्छ ।”
आयोडिनको मात्रा घटाउने विषयमा धेरै पटक छलफल भएको तर कार्यान्वयन नभएको राजभण्डारी पनि स्विकार्छन् । “हाम्रोमा फुड ह्याबिटका बारेमा अनुसन्धान नभएकाले अहिलेको जे छ, त्यही ठीक भएको हुन सक्ने भनेर सरकारले पुरानो मापदण्ड कार्यान्वयन भइरहेको हुन सक्छ,” उनले भने ।
सरकारले आयोडिनको मात्रा घटाउन स्पष्ट निर्देशन नदिएसम्म साल्ट ट्रेडिङले केही पनि गर्न नसक्ने राजभण्डारीले स्पष्ट पारे ।
खाना पकाउनुभन्दा पहिला नै नुन हाल्ने, नुन राखेपछि गोलभेंडा हाल्ने भएकाले पकाउने बेलासम्म ३० देखि ७० प्रतिशतसम्म आयोडिन उडेर जान सक्ने अध्ययनले देखाएको उनले दाबी गरे ।
दैनिक कति चाहिन्छ नुन ?
मानवका लागि चाहिने सोडियम क्लोराइड र आयोडिनको एक मात्र स्रोत आयोडिनयुक्त नुन हो । यी दुवै प्रत्येक दिन उपयोग नगरे मानव स्वास्थ्य जोखिममा पर्दछ, गलगाँडलगायत नसर्ने रोगको सिकार हुने गर्छ ।
प्रत्येक दिन ५ ग्राम वा १३५–१४५ मिली इन्क्युभेटर प्रतिलिटरसम्म नुन उपयोग गर्नुपर्ने हुन्छ । यही मात्रामा उपयोग नगरे शरीर कमजोर हुने, रिंगटा लाग्ने, वाक्वाकी लाग्ने, बेहोस् हुने, छारे रोग लाग्ने समस्या देखिने चिकित्सकहरू बताउँछन् ।
आयोडिनयुक्त नुनको उपयोगले गलगाँड, अपांगता हुनबाट जोगाउने भएकाले मानसिक र बौद्धिक क्षमताको विकास गर्न मद्दत पुग्छ ।
गर्भवतीबाट जन्मने बच्चालाई शारीरिक र मानसिक समस्या हुनबाट जोगाउन पनि आयोडिन आवश्यक पर्ने परिवार कल्याण महाशाखा प्रमुख डा. लालले बताए ।
(This story was originally published in www.nimjn.org -Editor)