काठमाडौं- स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले नेपालको चिकित्सा क्षेत्रको विकासमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण रहेको बताएका छन्।
जोरपाटीस्थित नेपाल मेडिकल कलेज तथा शिक्षण अस्पतालको रजत जयन्तीका अवसरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री पौडेलले यस्तो बताएका हुन्। नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने भनेर सरकारले काम अघि बढाइरहेको उनले बताए।
हाल सरकार स्वास्थ्य बिमालाई व्यवस्थित बनाउन लागिपरेको बताउँदै मन्त्री पौडेलले बिमाअन्तर्गत कसैले उपचार नै नगरी उपचार गरेँ भनेर हस्ताक्षर गर्छ भने उसलाई दण्डित गरिनुपर्ने बताए । उनले कसैले उपचार नगरी उपचार गराएँ भनेर भुक्तानी लिन्छ भने उसको बिमा खारेज गरिनुपर्ने बताए।
मन्त्री पौडेलले भने , 'उपचारात्मक क्षेत्रमा कसरी नागरिकलाई बढी सुविधा दिन सकिन्छ, त्यसमा सरकार गम्भीर छ, सरकारको नेतृत्व गर्ने सम्माननीय प्रधानमन्त्रीज्यु गम्भीर हुनुहुन्छ। हामी कसरी नागरिकलाई स्वास्थ्य सेवा उपलब्ध गराउन सकिन्छ, त्यसमा चिन्तन, बहस गरिरहेका छौँ, पैरवी गरिरहेका छौँ ,यसले सकारात्मक नतिजा ल्याउँछ।'
नेपाल मेडिकल कलेजले स्थानीय तथा राष्ट्रिय स्तरमा गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह गर्नका लागि निर्वाह गरेको भूमिका महत्वपूर्ण भएकोले मन्त्री पौडेलले अस्पताल सञ्चालक समितिप्रति कृतज्ञता व्यक्त गरेका थिए।
स्वास्थ्य सेवा भन्नेबितिकै त्यसमा गुणस्तरीयताको प्रश्न उठ्न नहुने उनको तर्क थियो । स्वास्थ्य सेवा सधैं गुणस्तरीय हुनुपर्ने मन्त्री पौडेलको तर्क थियो।