काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र मातहतका निकायले बिहिबार स्वास्थ्य सेवा दिवस मनाइरहेका छन्। संयोगले सोही दिन मन्त्रालयमा रिक्त स्वास्थ्य सचिव नियुक्त हुने सम्भावना रहेको छ।
आइतबार डा रोशन पोखरेलले अवकाश प्राप्त गरेदेखि रिक्त उक्त पदका लागि तीन जनाको नाम सिफारिस भएको छ। लोक सेवा आयोगको अध्यक्ष माधव शर्माको अध्यक्षतामा बसेको बढुवा समितिको बैठकले स्वास्थ्य मन्त्रालयका १२औं तहमा रहेका तीन जना डा संगिता मिश्र, विकास देवकोटा र डा टंक बाराकोटीलाई सिफारिस गरेको छ।
बिहिबार मन्त्रिपरिषदको नियमित बैठक बस्ने दिन हो। सिफारिस प्रक्रिया पूरा भएका कारण नियुक्तिमा ढिलाइ हुने कारण देखिएको छैन। तर, प्रतिष्पर्धामा शक्तिकेन्द्र समेत रहेका कारण तीनजनामध्ये एक नियुक्त गर्न भने सहज छैन।
मैदानमा डाक्टर, प्रतिष्पर्धा राजनीतिक शक्तिकेन्द्रको !
तीनैजना सचिवका लागि काबिल व्यक्तित्व मात्रै नभइ 'राजनीतिक शक्ति'का हिसाबले पनि बलिया देखिएका छन्। राजनीतिक रुपमा डा मिश्र र डा देवकोटा सत्तारुढ नेपाली कांग्रेसँग निकट मानिन्छन् भने डा बाराकोटी सत्ताको नेतृत्व गरिरहेका प्रधानमन्त्री केपी शर्मा ओलीसँग निकट छन्।
सचिवका आकांक्षीका रुपमा तीनैजनाले राजनीतिक शक्ति केन्द्रको दौड तीव्र पारेका छन्। स्रोतका अनुसार शिवरात्रीको दिनसमेत उनीहरुको सोहौ दौडमा 'जम्काभेट' समेत भएको थियो। 'एकजना लबिइङ सकेर निस्किने अर्को भित्र पस्ने सँगै भयो,' उक्त दृष्य देखेका एकजनाले स्वास्थ्यखबरलाई भने।
स्वास्थ्य मन्त्रालयमा गरिने चर्चामा एउटा वाक्य संयोजन गरिएको छ- मैदानमा डाक्टर, प्रतिष्पर्धा राजनीतिक शक्तिकेन्द्रको होला जस्तो छ! दृष्यमा पनि लगभग त्यस्तै देखिएको छ। सचिवका आकांक्षी मात्रै नभइ केही दिनदेखि उनीहरुलाई सचिव बनाउन चाहने नेताहरुले समेत आफ्नो तर्फबाट लबिङ गरिरहेका छन्।
स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार कांग्रेस नेताहरु दुईतिर बाँडिएका छन्। एक पक्षले डा मिश्रलाई बनाउनुपर्नेमा जोड दिइरहेको छ भने अर्को पक्ष डा देवकोटालाई बनाउनुपर्ने बताइरहेको छ। विशेषगरी डा शेखर कोइरालालगायतका कांग्रेस नेताहरु डा मिश्रका पक्षमा छन्। कोशी प्रदेश अस्पतालमा काम गरेकी डा मिश्रलाई त्यहीबेलादेखि नजिकबाट नियालेका कारण डा कोइराला उनलाई काबिल ठान्छन्। डा कोइरालाले आफूपक्षीय मन्त्रीमार्फत् क्याबिनेटमा समेत उक्त सन्देश पुर्या।एका छन्। यसअघिको क्याबिनेटमा डा कोइरालापक्षीय दुई मन्त्रीले आफ्नो कुरा राख्दा स्वास्थ्य सचिवका रुपमा डा मिश्र ठीक हुने राय समेत प्रस्तुत गरिसकेको बुझिएको छ। डा कोइरालाले स्वास्थ्य मन्त्री प्रदीप पौडेल र पार्टी सभापति शेरबहादुर देउवालाई सोही सन्देश पुर्या इसकेका छन्।
मन्त्री पौडेल आफैं भने डा देवकोटाका पक्षमा रहेको बुझिएको छ। स्वास्थ्य सेवाको तल्लो तहदेखि १२ औं तहमा पुगेका डा देवकोटालाई स्वास्थ्य प्रणालीबारे अलि बढी जानकारी छ। त्यसैले मन्त्री पौडेलले निर्णय लिँदा वा नयाँ काम गर्न खोज्दा अलि बढी भरोसा डा देवकोटामाथि गरिरहेका छन्। त्यसैले उनी मन्त्रालयमा आएपछि डा मिश्रलाई मन्त्रालय ल्याएर स्वास्थ्य सेवा विभागको महानिर्देशकको जिम्मेवारी समेत सुम्पेका छन्। विभागीय मन्त्रीलाई काम गर्न सहजता प्रदान गर्ने भावना प्रधानमन्त्री केपी शर्मा ओलीमा जागेमा डा देवकोटा सचिव हुने सम्भावना बलियो छ।
त्यसो नभएर प्रधानमन्त्री ओलीले स्वास्थ्य मन्त्रालयमा आफ्नो शक्ति बढाउन चाहेमा डा बाराकोटीको सम्भावना बढी छ। प्रधानमन्त्रीको गृहजिल्ला झापाका डा बाराकोटीले लामो समय उपत्यकाबाहिर बिताएका छन्। प्रधानमन्त्री ओलीले गृह जिल्लाबाटै चिन्ने भएकाले डा बाराकोटी सचिव हुने सम्भावना कसैले नकार्न सक्दैनन्। प्रधानमन्त्री ओली डा बाराकोटीलाई सचिव बनाएर छाड्ने तहमा पुग्दा अरु कसैले रोक्न सक्ने देखिदैन। सभापति शेरबहादुर देउवा तथा परराष्ट्र मन्त्री आरजु राणा देउवालाई बनाउनै पर्ने कोही उम्मेदवार भएमा मात्रै प्रधानमन्त्री ओलीले एकपल्ट सोच्ने अवस्था बन्ने देखिन्छ।
स्वास्थ्य सेवामा डा देवकोटा, १२ औं तहमा डा मिश्र अघि
मन्त्रालयको रेकर्डअनुसार स्वास्थ्य सेवामा डा विकास देवकोटा पहिले प्रवेश गरेको देखिन्छ। २०५३ सालमा मेडिकल अधिकृतका रुपमा उनी स्वास्थ्य सेवामा प्रवेश गरेका थिए। त्यसपछि डा टंक बाराकोटी २०५६ सालमा मेडिकल अधिकृतका रुपमा र डा संगिता भने २०५७ सालमा सेवा प्रवेश गरेको पाइन्छ। डा देवकोटा र डा बाराकोटी त्यसपछि निरन्तर छन् भने डा मिश्रले एक वर्ष काम गरेर जागिर छाडेकी थिइन्। २०७० असोज १० गते खुला प्रतिस्पर्धाबाट ११ औं तहमा नाम निकाल्दै पुन: स्वास्थ्य सेवामा प्रवेश गरेको देखिन्छ।
१२औं तह अर्थात अतिरिक्त सचिवमा बढुवा भने डा संगिता पहिले भएकी हुन्। उनी २०७९ असार २३ गते १२ औं तहमा बढुवा भएकी हुन्। डा विकास र डा टंक भने २०७९ चैतमा १३ गते बाह्रौं तहमा बढुवा भएका थिए।
स्वास्थ्य सेवामा लामो समयदेखि निरन्तर रहेका कारण डा विकासले मन्त्रालय मातहतका धेरै निकायहरुको जिम्मेवारी लिएको देखिन्छ। क्रमश: माथि पुगेका कारण डा विकासले मेडिकल अधिकृतदेखि जिल्ला अस्पताल, जिल्ला स्वास्थ्य कार्यालय, अञ्चल अस्पताल, क्षेत्रीय अपताल हुँदै प्रदेशको स्वास्थ्य सचिवसम्मको जिम्मेवारी सम्हालेका छन्। डा देवकोटाले स्वास्थ्य मन्त्रालयको महत्वपूर्ण महाशाखाको प्रमुखको जिम्मेवारी समेत सम्हालेका छन्। कोभिडको समयमा नियमित स्वास्थ्य ब्रिफिङ गरेका थिए। डा देवकोटाले धेरै जिम्मेवारी सम्हालेपनि कुनैपनि विवादमा मुछिएका छैनन्।
डा संगिता मिश्रले मेडिकल अधिकृतका रुपमा एकवर्ष मात्र काम गरेर २०७० सालमा ११औं तहबाट फेरि स्वास्थ्य सेवाम प्रवेश गरिन्। त्यसयता उनले कोशी अस्पताल, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको प्रमुख भएर काम गरिन् भने स्वास्थ्य सेवा विभागको महानिर्देशक भएकी छिन्। उनको ११ औं तह प्रवेशलाई लिएर तत्कालीन समयमा प्रश्न उठेपनि पछि साम्य भएको थियो।
डा टंक बाराकोटी पनि स्वास्थ्य सेवाको तल्लो तहदेखि माथिल्लो तहसम्म काम गरेका कर्माचारीका रुपमा चिनिन्छन्। उनी मेडिकल अधिकृतदेखि विभिन्न जिल्लाको निर्देशक समेत भएका छन्। त्यसपछि लामो समय मेची अस्पतालमा काम गरेका डाक्टर टंक १२औं तह बढुवा भएपछि मात्र मन्त्रालयमा आएका हुन्।